स्वर्गीय खानेपानी बा को स्मृतिमा निर्मित प्रवेशद्वार समुदघाटन

२०८१ फाल्गुण ४ आइतबार २०:२२:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोटका खानेपानी बा स्वर्गीय शोभाखर रिमालको स्मृतिमा परिवारजनका तर्फबाट गैंडाकोट ४ मा रहेको प्रसिद्ध कोटेश्वर शिवालय मन्दिरको प्रवेशद्वारको श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराजले समुदघाटन गर्नु  भएको छ । 

वि.स. २०१३ मा जन्मनुभएका रिमालको ६६ वर्षको उमेरमा २०७९ मंसिर ४ गते निधन भएको थियो । नवनिर्मित प्रवेशद्वार उदघाट गर्दै हरिहर सन्यास आश्रम श्री परमानन्द संस्कृत गुरूकुलम, देवघाटका पीठाधीस, नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराजज्यूले समाजसेवी शोभाखर रिमालको देहावसान भए पनि उहाँ आफ्नो कृतिले सदैव अमर रहनुभएको बताउनुभयो ।

 समाजमा यस्तै लोकोपकारी व्यक्तिहरूले सुन्दरता छर्ने समेत उहाँले बताउनुभयो । कार्यक्रममा गैंडाकोट पम्पिङ स्कीम खानेपानी संस्थाका अध्यक्ष कृष्णप्रसाद न्यौपाने, कोटेश्वर शिवालय मन्दिरका अध्यक्ष कृष्णप्रसाद पराजुली, गैंडाकोट वडा नं ४ का वडाध्यक्ष तेजप्रसाद  घिमिरे, कालिका संस्कृत विद्यापीठका अध्यक्ष एवम समाजसेवी ओमप्रसाद सापकोटालगायतले स्वर्गीय रिमालको व्यक्तित्वको स्मरण र चर्चा गर्नुभएको थियो । उहाँको निधनले समाजमा एक अनुकरणीय र उदाहरणीय व्यक्तिको अभाव महसुस गरिएको वक्ताहरूले बताउनुभयो । 


दाजु ईश्वरीनाथ रिमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य छोरा एकदेव रिमालले राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण कालिका संस्कृत विद्यापीठका प्राचार्य रामचन्द्र कँडेलले गर्नुभएको हो । 


कार्यक्रममा सामाजिक व्यक्तित्व टोलनाथ घिमिरे, वडा नं १ का वडाध्यक्ष सुरेन्द्र रेग्मी, वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी, जनक नमुना माविका प्रधानाध्यापक चूडामणि शर्मा कँडेल, समाजसेवीहरू हरिप्रसाद सापकोटा, टिकाराम सापकोटा, कमल पराजुली, शंकर आचार्यलगायत घर परिवारबाट स्वर्गीय रिमालकी धर्मपत्नी पुतलीदेवी रिमाल, दाजु विष्णुहरि रिमाल, छोराबुहारी, छोरी ज्वाइँ तथा शुभेच्छुक र आफन्तहरूको उपस्थिति रहेको थियो ।


रिमाल गैँडाकोट पम्पिङ स्कीम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, नेपाली काँग्रेस गैंडाकोटको निवर्तमान नगर उपसभापति, विभिन्न धार्मिक तथा अन्य संघसंस्थामा रहेर सामाजिक विकासका लागि काम गर्दै आउनुभएको थियो । सादगी र उच्च विचारका धनि रिमालले गैँडाकोटको खानेपानी क्षेत्रको विकासका लागि अतुलनिय भूमिका निर्वाह गर्नुभएको थियोे । गैंडाकोटमा पम्पिङ स्कीम खानेपानीको अवधारणालाई उहाँले नै विकसित गर्नुभएको थियो ।  


विभिन्न संघसंस्था र राजनीतिमा युवालाई अघि बढाउनु पर्दछ भन्ने धारणा बोक्ने उहाँ साविक गैंडाकोट वडा नं ४ मा दुईपटकसम्म वडाध्यक्ष पदमा निर्वाचित हुनुभएका लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो ।