अप्रेसन थिएटरमा मेरो टाउको झुण्डिरहँदा उहाँहरु के गर्दै हुनुहुन्थ्यो ? होला

घटना आज भन्दा ७ महिना अगाडीको हो । गत भाद्र २ गते मेरो क्यानडाको उडान थियो त्यसै सन्दर्भमा मलाई कुनै समस्या नदेखिएतापनि एक पटक स्वास्थ्य परीक्षण गर्छु भन्ने सोचाइ आयो । विशेष गरि पाठेघरकोे परीक्षणका लागि प्याप स्मेयर टेष्ट गर्न गत आषाढ ११ गते चितवन मेडीकल कलेजमा गएँ । टेष्ट गराँए । रिपोर्र्ट ३ दिन पछि आयो । रिपोर्टमा केही शंकास्पद देखिएकोले पाठेघरको बायोप्सी गर्नुपर्ने देखियो । फेरी ४ दिन पछी बायोप्सीको लागी चितवन मेडिकल कलेज गएँ । बायोप्सीकालागि मासु निकाल्दा केही दुःख्छ बेहोस गर्नेकी भनेर डाक्टरले सोध्दा होइन बेहोस नगर्नु म सहन सक्छु भने । अनि त्यसपछि १५ मिनेट जति समय लगाएर वायोप्सीको लागी आवश्यक मासु निकाल्नु भयो । म केही समय आराम गरेँ । पछि घर फर्किएँ । १० दिन पछि वायोस्पीको रिपोर्ट आयो । रिपोर्र्ट राम्रो आएन । सि.एम.सीमा नै दुई जना डाक्टरले रिपोर्ट हेर्नु भयो र पाठेघर तुरुन्त फाल्नु पर्ने सुझाब आयो । केही समय ढिला गरे क्यान्सर जस्तो भयानक रोग लाग्ने लक्षण देखिन सक्ने सल्लाह दिनुभयो । म एक्लै थिएँ मैले केही सोच्न सकिन मैले भने “म घर सल्लाह गरेर आउँछु ।” सि.एम.सीबाट फर्के पछि म उपचारको लागि दिल्ली जाने निर्णय गरेँ सबै तारतम्य मिलाएँ । दुई दिन पछि निर्णय फेरियो । दिल्लीमा यहाँको रिपोर्टहरू कुनै पनि मान्य हुँदैन फेरी सबै नयाँ रिपोर्ट तयार गर्नु पर्छ भन्ने कुरा भयो । त्यसको लागि समय लाग्छ झन रोग बढ्ने पो हो की ? भन्ने संशय आयो । पाठेघरको अप्रेशन सामान्यतया सबैले चितवनमानै गरि रहेका छन यहीँ गर्नु प¥यो भन्ने सोचाइ भयो । सबै आफन्त इष्टमित्रहरूको पनि सल्लाह यहि नै गर्दा राम्रो हुने भयो । अप्रेशन पछि अरु चेक जाँचको लागि बरु दिल्ली जानुपर्ला भनेर निर्णय गरियो।
चितवनमा यो विषयसँग सम्बन्धित मुख्य डाक्टर सुनिलमणि पोख्रेललाई भेट्न भरतपुर सामुदायिक अस्पतालमा गत आषाढ २५ गते गएँ र उहासँग भेट भयो । डाक्टरले भन्नुभयो “समयमा नै परीक्षण गर्नु भएछ । रोग पत्ता लाग्यो । तुरुन्त अप्रेशन गर्नु पर्छ ढिला गर्नु हुँदैन । रोग फाले पछि रोगमुक्त भइन्छ ।” मैले मेरो विदेश यात्रा रहेको कुरा समेत उहाँलाई सुनाएँ । उहाँले भन्नुभयो “ भदौ २ गते क्यानडा जान सकिन्छ टिकट क्यान्सिल गर्नुपर्दैन ।”
उपचारका सन्दर्भमा उहाँले फेरी भन्नुभयो “अप्रेशन २ तरिकाबाट हुन्छ एउटा तल्लो पेट चिरेर र अर्काे प्वाल अर्थात् ड्रिल गरेर ।” डाक्टरले सोध्नुभयो “कुन विधिबाट अपे्रेसन गर्नुहुन्छ ।”
मैले उहाँलाई जवाफ दिएँ “जुन विधिबाट गर्दा सजिलो र राम्रो हुन्छ त्यही गर्ने ।” पछि ड्रिल गरेर लेजर विधिवाट नै गर्ने तयारी भयो । मैले अप्रेशनको लागि आवश्यक पर्ने रिपोर्टहरू सबै तयार गरेर असार २८ गते अप्रेशनको लागि भर्ना भएँ । बेलुका करिब ४ बजे तिर मलाई अप्रेशन थिएटर भित्र लगियो । अप्रेशन गर्ने बेडमा सुताइयो । केही क्षणमै म पूर्ण रूपमा बेहोस भएँ । केही घण्टामा मेरो अप्रेशन सकियो । पोष्टअपमा सारियो केही समय पछि म पूर्ण रूपमा होसमा आइसकेकी थिएँ । अप्रेसनको पिडा असाध्यै थियो । भोलीपल्ट क्याविनमा सरे । अस्पतालको ३ दिनको बसाइ पछि मलाई डा. सुनिलमणि पोखे्रलले डिस्चार्ज गर्नु भयो । त्यति बेला देखि नै मेरो घाँटीको पछाडीको भागमा दुखाई भइरहेको थियो । मैले डाक्टरसँग भने डाक्टरसाप मेरो गर्दनमा (घाँटीको पछाडी) दुखेको छ । पहिला केही भएको थिएन किन होला ? डाक्टरले भन्नु भयो त्यो खास केही होइन विस्तारै सब ठिक हुन्छ । म घरमा आए । घरमा आए पछि मेरो गर्दनको दुखाई बढ्दै गयो । सहन सकिन । अनि डा. सुनिलमणि पोखे्रललाई फोन गरेर मैले भने “मलाई गर्दनको दुखाई बढी भयो ।” उहाँले भरतपुर सामुदायिक अस्पतालमा आउनुहोस् भनेर बोलाउनु भयो । म त्यस अस्पतालमा गएँ । केही औषधि हेरफेर गरेर पठाइदिनु भयो । तर त्यो औषधिले काम गरेन दुखाई झन बढ्दै गयो । फेरी फोन गरे असह्य पिडा भयो म आउँछु खप्न सकिन भनेपछि म आँफै गएँ त्यति बेला । एउटा भिडियो एक्सरे गरेर हेरौँ भन्नु भयो । ठिकै छ भनेर केही औषधि थपेर पठाइदिनु भयो । अप्रेसन गरेको मान्छे आराम गर्ने समयमा बारम्बार अर्को पिडाले भरतपुर सामुदायिक अस्पताल धाउँदा असाध्यै गाह्रो भयो । अप्रेसनमा केही भएको छैन यो तपाईंको फरक समस्या हो भन्नुभयो । पछि उहाँले हाडजोर्नी विषेशज्ञ अर्थात् मेरुदण्डसँग सम्बन्धित डा. कृष्ण पौडेललाई रिफर गर्नु भयो । डा. कृष्ण पौडेलले घाँटीको एक्सरे गर्न लगााउनु भयो । एक्सरेमा खासै केही देखिएन औषधी केही थपेर पठाउनुभयो । त्यो दिन मेरो अप्रेशन गरेको १० दिन भइसकेको थियो । यहाँ आएको बेलामा पेटको टाँका खोलेर जान्छु आज १० दिन भयो भनेर मैले डा. संग भने अनि डा. सुनिलमणी पोखेलको कक्षमा नै उहाँको सहयोगी, राउण्डमा हिँड्दा उहाँसँगै हिड्ने पुरुष सायद उहाँ पनि डाक्टर नै हुनुहुन्छ होला, नाम मैले सोधिन । थाहा भएन । उहाँले मेरो टाँका खोल्नु भयो । गर्दन दुखाईको कारण बारम्बार अस्पताल आईरहेको उहाँलाई पनि राम्रै थाहा थियो । टाँका खोली सकेपछि उहाँले भन्नुभयो अप्रेशन गर्ने बेलामा तपाइको टाउको झुण्डिएको थियो मेड्म त्यही भएर दुखेको होला नआत्तिनु यो सन्चो हुन्छ भन्नु भयो । अलि चिउँडो ठाडो परेको हो ? ठिक हुन्छ भन्नु भयो । चिउँडो ठाडो पर्नु भनेको नै टाउको झुण्डिएको कारण हो भन्ने कुरा भयो । त्यसपछि घरमा आएँ । दुखाई अति नै भयो । खाना खान सुत्न समेत मलाई सहन भएन । घरमा आइसले सेक्ने, तातोपानीले सेक्ने, मालिस गर्ने जेल लगाउने, मुभ लगाउने जे गर्दा पनि नभएर छटपटाउने अवस्थामा पुगिसकेको थिएँ ।
फेरी भरतपुर सामुदायिक अस्पतालमा गएँ डा. कष्ण पौडेलले एउटा एमआरआई गरेर हेरौं भन्नु भयो । एम आर आई गरेँ । त्यसमा खराबी देखियो । घाँटीको पछाडी मेरुदण्डमा पानी जमेको छ । डा. कष्ण पौडेलले भन्नुभयो “यो बोर्न टि भी. पनि हुन सक्छ र नशा पनि च्यापिएको छ योे त अप्रेशन नै गर्नु पर्छ ।” टिभिकोे पनि जाँच गर्नु पर्छ । अनि त्यस पछि अब मेरो समस्या पहिचान भयो । यसपछि मैले उपचारको लागि दिल्ली जाने निधो गरेँ । श्रावणको १३ गते दिल्ली पुगियो । मेदान्त अस्पतालमा मेरुदण्ड सम्बन्धी लामो अनुभव भएका डा. भिनेस माथुर सँग उहाँको ओपीडीमा भेट भयो । मैले मेरो समस्या सबै उहाँलाई बताएँ । त्यति वेला मेरो पाठेघरको अप्रेशन गरेको १७ दिन मात्र भएको थियो । भरतपुरको सबै रिपोर्ट छन् र एमआरआइपनि सबै देखाएँ । मैले भने मेरो गर्दन (घाँटीमा) समस्या पहिले केही थिएन पाठेघरको अप्रेशन पछि यो समस्या देखिएको र एमआरआई गर्दा घाँटी पछाडी मेरुदण्डमा पानी जमेको नशा च्यापिएको र बोर्न टिभी पनि हुन सक्ने शंका गरिएको छ भन्ने कुरा सबै बताए पछि फेरी सबै प्रकारको रगत जाँच र एमआरआई गरेर सबै रिपोर्ट तयार गरेर २ दिन पछि डा माथुरलाई भेट्ने कुरा भयो । सोही मुताविक श्रावण १४ र १५ गते सबै रिपोर्ट देखायौँ । रिपोर्ट हेरिसकेपछि डा. माथुरले भन्नुभयो “तपाईंलाई बोर्न टिभि पनि होइन, नशा च्यापिएको पनि हैन तर पाठेघरको अप्रेशन गर्ने बेलामा कुन पोजिसनमा सुतायो, कस्तो प्रकारको एन्टीबायोटीक चलायो यो सब त्यतिवेलाको गडबडीले भएको हो । तपाईंको मेरुदण्डको सि सिक्स र सि सेभेन दुईवटा डीस (गोटी) ड्यामेज भएको छ । फेरी अप्रेशन गर्नुपर्दछ ।” फेरी अप्रेशन वाहेक अरु उपाय नभए पछि श्रावण १६ गते भर्ना भएँ । अप्रेशन भयो । पाँच दिनको अस्पताल बसाइ पछि डिस्चार्ज भएर कोठामा बसियो । मसंग मेरो भाई रामु र बैनी जमुनासँगै ३ जना थियौँ । २ हप्तापछि टाँका खोल्न बोलाउनुभयो । अप्रेशन घाँटीबाट गरेको हँुदा बोल्न मिलेको थिएन । बोली बन्द भएको थियो । इशाराले कुरा गर्नुपर्ने बाध्यता थियो । डा. लाई सोध्दा ३ महिना पछि मात्र आवाज खुल्ने बताउनुभयो । गर्मीको समय थियो । घाँटीमा सपोटको लागी बेल्ट बाँधिएको थियो । त्यो राती सुत्ने बेलामा पनि खोल्न मिल्दैनथ्यो । २० दिनको अन्तरालमा २ वटा अप्रेशनले शरिर निकै कमजोर भएको थियो । एकदिन त विहान बेडमा बसेको समयमा चक्कर लागेर भुँईको मारवलमा टाउको ठोक्कीएछ । दुख पिडा शरिरलाई शास्ती मैले कति भोगेँ । अहिले सम्झदा अचम्म लाग्छ । केही नभएको मान्छेले दर्दनाक पिडा भोग्नु प¥योे । २ हप्ता पछि टाँका खोल्न गइयो । टाँका खोलेर बिदा भइयोे । १ महिना पछि २ वटा रगतको जाँच इएसआर र सीआरपी गरेरि रिपोर्ट पठाउने र अनलाइन कुरा गर्ने गरि घर फर्कियौँ ।
रगतको रिपोर्ट, एक्सरे पठाउने र सल्लाह अनुसार औषधि खाने काम भईरहेको छ । घाँटी कमजोर भएको छ । मेरुदण्डको २ वटा गोटी फेरिएको छ । यो समस्या मेरो जीवन भर नै रहिरहने छ । पाठेघरको अप्रेशन गर्ने समयमा मेरोे सुताइको पोजिसन नमिलाई दिएको हुँदा अहिले ठूलो समस्या भोग्न परिरहेको छ । अप्रेसनका बेला टाउको नझुण्डाइ दिएको भए अहिले यति धेरै समस्या भोग्नुपर्ने थिएन । दिल्ली अस्पतालले दिने सेवा विरामीको रोग प्रति गरिने अध्ययन धेरै स्तरीय अनुभव गरेँ । यहाँ हचुवाको भरमा एउटा उपचार गर्दा अर्को समस्या निस्कने यस्ता घटना धेरै नै सुनिन्छ । सेवा दिने र सेवा लिने दुबै सचेत बन्न आवश्यक रहेछ । एकचोटी प्राप्त भएको अनमोल जीवन फेरी अर्कोचोटी पाईँदैन । अप्रेशन थिएटरमा एउटा टिम नै हुन्छ । सबैले आआफ्नो जिम्मेवारी पुरा गर्नु पर्छ । उहाँहरुबाट हुने सानो गल्तीले विरामीले जीवनमा सोच्दै नसोचेको पिडा भोग्नुपर्ने रहेछ । मेरो टाउको झुण्डिएको बेला उहाँहरु के हेरेर बस्नुभएको थियो होला ? उहाँहरुको एक नजर पुगेको भए । मैले आज यो समस्या भोग्नुपर्ने थिएन ।
लेखक विष्णुकुमारी कंडेल गैँडाकोट नगरपालिकाको निवर्तमान उप–प्रमुख हुनुहुन्छ ।