रेडियोलाई प्रविधिमैत्री बनाउन सरोकारवालाको सुझाब 

२०८१ माघ १२ शनिबार १९:०३:०० मा प्रकाशित

 

गैँडाकोट । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २४ औँ वार्षिक साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले रेडियोलाई समयानुकुल र प्रविधिमैत्री बनाउँदै अगाडी लैजाने बताउनुभएको छ । उहाँले नागरिकको विश्वास अझै पनि रेडियोमा रहेको र सहज पहुँचका अनलाइन संस्करणलाई प्रभावकारी बनाइने बताउनुभएको छ । अहिले प्रबिधिको प्रयोग र उपयोगितालाई आत्मसात गर्दै अगाडी बढ्ने उहाँको भनाई छ । 

अध्यक्ष सापकोटाले आवाज विहिनका आवाज बनेर समुदायका गतिबिधिलाई आगामी दिनमा अझै विस्तारका साथ समेट्ने बताउनुभयो । उहाँले भन्नुभयो “जो बोल्न नसक्ने छ र आवाज बन्नुपर्ने छ त्यो आवाज बन्ने र समुदायका समस्या र सम्भावनालाई उजागर गरेर अगाडी बढ्ने छाँै ।” 

संस्थाका सचिव भानुभक्त रिमालले सामुदायिक सञ्चार माध्यमका रूपमा संस्थाले स्थानीय सवाल, सरोकारका बिषय, समुदायका समस्या र भुइमान्छेका प्राथमिकताहरूलाई मुख्य विषयबस्तुका रुपमा ग्रहण गर्दै जिम्मेवार पत्रकारितामा विजय एफएम अगाडी बढ्ने बताउनुभयो । 
संस्थाका कोषाध्यक्ष विष्णुमाया पन्थीले विजय एफएम र विजय खबरका सामग्रीप्रति स्रोताको विश्वासले यसलाई अगाडी बढ्न प्रेरित गरेको बताउनुभयो । श्रोता र पाठकको जीवनमा पारेको प्रभाव र विश्वास नै संस्थाको पूँजी भएको उहाँको भनाई छ । उहाँले संस्थाले समूदायको विश्वास जित्न सक्नु नै ठूलो उपलब्धी रहेको बताउनुभयो ।
 
लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका लेखा समिति संयोजक बद्री लम्सालले विभिन्न समस्या आइपरेपनि संस्थाले उल्लेख्य प्रगति गरेको बताउनुभयो । साथै उहाँले नयाँ प्लेटफर्म मार्फत श्रव्यदृश्य सामग्रीसँगै व्यवस्थित बनेर अगाडी आउन सुझाव दिनुभएको छ । 

कार्यक्रममा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष एवम् वर्तमान सल्लाहकार संयोजक खेमराज सापकोटाले समाजमा सकारात्मक सोचको विकास गर्न सक्नु नै विजय एफएम स्थापनाको सार्थकता स्थापित हुने बताउनुभयो । 

संस्थाका निवर्तमान अध्यक्ष गोपीनाथ खरेलले अब फरक तरिकाले अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अन्य बिकल्प खोज्दै सकारात्मक भाव र सन्देश फैलाउने गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो । 

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले वातावरण, जलवायु परिवर्तन, सार्वजनिक सेवा प्रवाह लगायतका विषयवस्तुमा विजय एफएमले काम गर्नुपर्ने सुझाब दिनुभएको छ ।  

संस्थाका पूर्व उपाध्यक्ष एवं समाजसेवी सिद्धकुमार श्रेष्ठले धार्मीक कार्यक्रम र सामाजिक परिवेश अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो ।

साधारण सभामा विकू सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटा “राजु”, विकूका पूर्व अध्यक्ष ओमप्रसाद सापकोटा, गैँडाकोट नगरपालिकाको निवर्तमान नगरउपप्रमुख विष्णुकुमारी कंडेल,  विजय विकास स्रोत केन्द्रका संस्थापक अध्यक्ष ऋषिराम सापकोटा, किसान साकोसका अध्यक्ष भोजराज पौडेल लगायतको उपस्थिति रहेको थियो । 
.
संस्थाका उपाध्यक्ष गिरिराज लम्सालले स्वागत मन्तव्य राख्दै इनडोर कार्यक्रम मात्र नभइ आउट डोर कार्यक्रम अन्तर्गत पढ्न उत्प्रेरित गर्न पठन संस्कृति र बालबालिकाको प्रतिभा उजागर गर्न विजय लिटिल च्याम्प लगायतका कार्यक्रम संस्थाले गरिरहेको बताउनुभएको छ । 

यस्तै वर्ष उत्कृष्ट विज्ञापनदातामा गैँडाकोट फन पार्कलाई सम्मान गरेको छ । कर्मचारीतर्फ उत्कृष्ट कर्मचारीमा गगन गिरी सम्मानित हुनुभएको छ ।    

 

‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको स्थापना भएको हो । संस्थाले सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिका सञ्चालन गरेको छ । स्थापनाकालदेखि नै सञ्चारका यी दुवै माध्यमबाट समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आइरहेको छ ।