नागरिकको उपचारका लागि घरघरमै पुग्छन् मुगुका स्वास्थ्यकर्मी बली 

२०८१ पौष २७ शनिबार ०८:५७:०० मा प्रकाशित

हिमाली तथा पहाडी जिल्लाका कतिपय दुर्गम क्षेत्रमा अहिले पनि स्वास्थ्य संस्थाहरू पर्याप्त नहुँदा सामान्य बिरामी पर्दासमेत नागरिकलाई, जिल्ला सदरमुकाम वा नजिकको सहर बजारमा रहेका अस्पताल पुग्नुपर्ने बाध्यता भइरहेको छ । तर मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक स्वास्थ्यकर्मीले विदाको दिनमासमेत घरघरमा पुगेर नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छन् ।

सर्वसाधारणको घरमै पुगेर स्वास्थ्यकर्मी बलिबहादुर बुढाले सेवा दिइरहनु भएको हो । जिल्लाको पूर्वतिर पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा करिब नब्बे प्रतिशत लामा समुदायको बसोबास छ । उनीहरू घरघरमै आईपुग्ने स्वास्थ्यकर्मी बुढा प्रति कृतज्ञ छन् । पापुँ गाउँबाट सुरु भएको शनिवारे सेवा अभियानकै रुपमा दोल्फु, चितै, मुगु, कार्ति, किर्मी, ताखा, खारी, दाउरा, सेरोग, पुवा, रिउस, मह, माँग्री लगायत १६ वटा गाउँमा पुगिसकेको छ ।

स्वास्थ्यकर्मी बुढाले एउटा विद्यालय र गुम्बामासमेत पुगेर स्वास्थ्य सेवा दिनुभयो । घरमै आएर स्वास्थ्यकर्मीले सेवा दिएपछि विपन्न नागरिकलाई पनि केही राहत मिलेको, पुवाका ग्याल्ज लामाले बताउनुभयो । स्वास्थ्यकर्मी बुढा, मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ ।

छुट्टीको दिन अर्थात् शनिवारे सेवामा उहाँले दीर्घ रोग, स्वास्थ्य सरसफाइका साथै चोटपटक, दुर्घटना, खोप, मातृशिशु स्वास्थ्यलगायतका विषयमा आम नागरिकलाई जानकारीसमेत दिने गर्नु भएको छ ।