विकूमा २ अर्ब ७६ करोड बढी तरलता रकम
नवलपरासी पूर्व । देशकै ठूलो सहकारी मध्येको विकू सहकारीमा २ अर्ब ७६ करोड २४ लाख ४० हजार ४ सय ६५ रुपैँया तरलता रकम रहेको छ । विकू सहकारीले जारी गरेको मंसिर मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार विकूमा ३४.२५ प्रतिशत तरलता देखिएको छ । सहकारी प्रति विश्वास घटेको भनिएपनि विकू सहकारीमा भने तरलता प्रयाप्त देखिएको छ । यस आर्थिक वर्षको श्रावणमा ३७.७५ प्रतिशत, भदौमा ३७.२२ प्रतिशत, असोजमा ३६.८८ प्रतिशत, कार्तिकमा ३५.७९ प्रतिशत तरलता रहेको छ ।
विकूले मंसिर मसान्तसम्मको विवरण अनुसार ६ अर्ब ९३ करोड ७ लाख ८३ हजारबढी रकम ऋण लगानी गरेको छ । अघिल्लो महिनाको मसान्तसम्म विकूको ऋण लगानी ६ अर्ब ८२ करोड ६१ लाख ५१ हजार रहेको थियो । कार्तिक मसान्तमा ८ हजार ७२ जना ऋणी रहेकोमा मंसिर मसान्तमा ऋण लिनेको संख्या बढेर ८ हजार १ सय ३३ पुगेको छ । विकूमा हाल १ लाख २१ हजार ७ सय ८८ सदस्य रहेका छन् ।