एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित
काठमाडौं । सैफ जैबको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार तेस्रो हासिल गरेको छ। एनपीएलमा सुदूरपश्चिमले लगातार तेस्रो जित दर्ता गर्दा लुम्बिनी लायन्सले भने लगातार तेस्रो हार बेहोरेको छ। शनिबारको पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जित हात पारेको हो। एनपीएलमा सबै टोलीले तेस्रो खेल खेलिसक्दा जनकपुर र सुदूरपश्चिममात्र अपराजित छन्। बाँकी पाँच टोलीले एक जित हात पार्दा लुम्बिनी भने तेस्रो खेलसम्म आइपुग्दा जितविहिन हुने एक्लो टोली बनेको छ।
सुदूरपश्चिमले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो। लुम्बिनीका विवेक यादवले ७७ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। चौथो ओभरमै लगातार पाँच विकेट गुमाएपछि लुम्बिनी लायन्स संकटमा परेको थियो। लुम्बिनी एक समय ३।३ ओभरमा ५–१९ को अवस्थामा थियो। छैटौँ विकेटका लागि सन्दीप जोरा र विवेक यादवले ३७ रनको साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए।
इनिङ्सको पहिलो ओभरमै दुई विकेट गुमाएको लुम्बिनी दोस्रो ओभरमा एक र चौथो ओभरमा लागातार दुई विकेट गुमाएपछि संकटमा परेको हो। इनिङसको पहिलो बलमै ओपनर अर्जुन साउद स्कट कुग्लेजिनको बलमा एलबीडब्लु धरापमा परे। अन्तिम बलमा उन्मुक्त चन्द ४ रन बनाउँदा स्कट कै बलमा एलबीडब्लु धरापमा परे। दोस्रो ओभरको पाचौँ बलमा कप्तान रोहित पौडेल ५ रन बनाउँदै क्याच आउट हुन पुगे। चौथो ओभरको दोस्रो बलमा टोम मोरिस ७ रन बनाउँदै क्याच आउट नै भए। तेस्रो बलमा साद विन जफर पहिलो बलमा नै एलबीडब्लु धरापमा परे।
दिनेश अधिकारी क्याच आउट भए। रामोन डक आउट भए। सूर्य तामाङ ७ रनमा क्याच आउट भए। सुदूरपश्चिमका ब्रान्डोन म्याकमुलेन र सैफ जैबले समान ३ विकेट लिए। स्कट कुग्लेजिनले २ विकेट लिए। अविनास बोहोराले एक विकेट आफ्नो नाममा गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमका लागि ओपन सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए। शतक नजिक पुगेका जैब रामोन सिमोन्डको बलमा उन्मुक्त चन्दको हातबाट क्याच आउट हुन पुगे। उनले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गरे।
कप्तान दिपेन्द्रसिंह ऐरिले ३९ र स्कट कुग्लेजिन ११ रनमा अविजित रहे। त्यसअघि ब्राण्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे। ६।३ ओभरमा १३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।
आरिफ शेख शुन्य रनमा नै सिमोन्डको बलमा सादविन जफरको हातबाट क्याच आउट भए। लुम्बिनीका रामोनले दुई विकेट लिए। रोहित पौडेल र विवेक यादवले समान एक विकेट लिए।