ढोडेनीमा राष्ट्रपति रनिङ शिल्ड सुरु
नवलपरासी पूर्व । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ आज बुधबारबाट गैँडाकोट नगरपालिका अन्तर विद्यालय स्तरीय ७ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ को उद्घाटन समारोह सम्पन्न भएको छ । श्री कृष्ण गण्डकी माध्यमिक विद्यालय गँैडाकोट–३, ढोडेनीमा भएको उक्त समारोहमा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी र विशिष्ट अतिथी उपप्रमुख शान्ती कोइरालाले खेलकुद प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुलाई अनुशासित र मर्यादित भई खेल खेल्नका लागी आग्रह गर्नुभएको छ ।
कृष्णगण्डकी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर सुनारीले विद्यार्थीहरुलाई पढाइमा मात्र नभई अन्य क्रियाकलापहरूमा सहभागी गराउँदा विद्यार्थीहरु शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुने बताउनुभएको छ । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैँडाकोट नगर प्रवक्ता शिवकान्त तिवारी, गैँडाकोट नगर खेलकुद समितिका अध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, गैँडाकोट वडा नं ४ का वडाध्यक्ष तेजप्रसाद घिमिरे, वडा नं ८ का वडाध्यक्ष प्रेम सापकोटा, शिक्षा समितिका पदाधीकारीहरू, विभिन्न खेलकुदप्रेमीहरू लगायतको उपस्थिति रहेको थियो ।
श्रीकृष्णगण्डकी माध्यमिक विद्यालय गैडाकोट–३, ढोडेनीका प्रधानाध्यापक सूर्यनाथ तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक बलराम रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बुधबारदेखि सुरु भएको प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुनेछ । खेलमा ३१ वटा विद्यालयको सहभागीता रहेको छ ।
उद्घाटन खेलमा स्मल हार्ट एकेडेमी र सरस्वती निकेतनबीच भलिबलका खेलमा प्रतिष्पर्धा भएको थियो । सरस्वती निकेतनका छात्र खेलाडीहरु विजयी भएका छन् । साइनिङ वोडिङ स्कूल र कालिका माध्यमिक विद्यालयबिच भएको छात्र भलिबल खेलमा कालिका माध्यमिक विद्यालय विजय भएको छ । लक्ष्मी मा.वि.र अमरापुरि मा.वि. विद्यालय छात्रा तर्फको भलिबल खेलमा लक्ष्मी मा.वि. विजय भएको छ । १५०० मिटरको दौड प्रतियोगितामा सरस्वती निकेतनको आयुषा पौडेल प्रथम, विजय सामुदायिकका आयुषा तिवारी दोस्रो र कण्टिनेण्टल ईं बो. स्कुलकी दर्पण शर्मा तृतीय हुनुभएको छ । पुरुष कबड्डी खेलमा अक्सफोर्ड, गैँडाकोट ईंग्लीस बोर्डिङ स्कुल, बालविकास, मुकुन्दसेन, गँैडाकोट नमुना र साइनिङ दोस्रो चरणमा प्रवेश गरेको कृष्णगण्डकी माध्यमिक विद्यालयका शिक्षक बलराम रानाभाटले जानकारी दिनुभयो ।