सामाजिक सुरक्षा कोषले छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान, श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीले समेत स्वास्थ्य उपचारको सुविधा पाउने भएका छन् ।
सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज भएको कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधि उपचार पाउने गरेकोमा अब उनीहरूका श्रीमान, श्रीमती र १८ वर्ष ननाघेका छोराछोरीका लागि समेत उपचार सेवा थप गरिएको जानकारी दिनुभयो ।
कार्यकारी निर्देशक अधिकारीले कोषमा हिजो सोमवारसम्म औपचारिक क्षेत्रका १९ हजार सात सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आबद्ध भएका जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म श्रमिक बिरामी भएको, दुर्घटनामा परेको, अशक्त भएको, ज्येष्ठ नागरिक र मृत्यु दाबीबापत ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र उनीहरूका परिवारलाई भुक्तानी गरिसकेको पनि बताउनुभयो ।