गैँडाकोट शिक्षाशाखाले अपाङ्गताको प्रारम्भिक पहिचान गर्दै

२०८१ मङ्सिर ५ बुधबार ०७:१८:०० मा प्रकाशित


नवलपरासी पूर्व । शिक्षा, युवा तथा खेलकुद शाखा गैँडाकोट नगरपालिकाले अपाङ्गताको प्रारम्भिक पहिचान सम्बन्धि तालिम कार्यक्रम सञ्चालन गरेको छ । मंसीर ४ र ५ गते गरी दुई दिन कालिका माध्यमिक विद्यालयको सभाहलमा सञ्चालन हुुने कार्यक्रममा गैँडाकोट नगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयका इमिस शिक्षकहरुको सहभागिता रहेको छ । 


कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डा.बालकृष्ण चापागाईंले विद्यार्थीहरुको यथार्थ बिवरण इमिस सफ्टवेयरमा राखिदिनुहुन सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । प्रमुख चापागाईँले तपाईँहरुले विद्यार्थीको यथार्थ बिवरण भर्नुभएन भने तीन तहकै सरकारलाई योजना बनाउन र  कार्यक्रम तय गर्न समस्या हुने हुँदा विद्यार्थीहरु तपाईँ हाम्रै कारणले गर्दा सेवा सुविधाबाट बन्चित हुने अवस्था आउन सक्ने कुरामा जोड दिनुभयो  ।


शिक्षा अधिकृत रामप्रसाद अधिकारीले यो संघीय सरकारले अपाङ्गता भएका विद्यार्थी सिकाइको अवसरबाट बन्चित हुन नपरोस् भनेर ल्याएको कार्यक्रम रहेको कुरा बताउनुभयो । संघीय सरकारको निर्णय अनुसार अपाङ्गताको प्रारम्भिक पहिचानको कार्यक्रम परिक्षणको रुपमा २ सय पालिकामा सञ्चालित हुनेछ । 


सो कार्यक्रम अनुसार विद्यालयको इमिसमा युनिसेफको मापदण्ड अनुसारका प्रश्नावलीहरु मार्फत अभिभावक र कक्षा शिक्षकसँग  अन्र्तक्रिया गरी तय गरि इमिसमा प्रविष्ट  गरिने कुरा अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमको पहिलो दिन सैद्धान्तिक र दोस्रो दिन प्रयोगात्मक अभ्यास गराई अपाङ्गताको यथार्थ पहिचान गर्नका लागि शिक्षकहरुलाई सहजीकरण गरिने कुरामा जोड दिनुभयो ।


शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा  शिक्षा अधिकृत रामप्रसाद अधिकारी र कालिका नमुना माध्यमिक विद्यालयका इमिस शिक्षक डिल्लीराज आचार्यले सहजीकरण गर्नुभएको थियो ।