मुकुन्दपुर साकोसकोे २० औँ वार्षिक साधारण सभा सम्पन्न
गैँडाकोट । मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जनता माविको प्राङगढमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था धेरै असल कार्यहरुका साथ अघि बढ्दै गएको बताउनुभएको छ । संस्थालाई यसैगरि सफलताका साथ अगाडि बढाउनका लागी सबै सदस्य एकजुट हुनुपर्ने बताउनुभएको छ ।
मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्दराज कोइरालाले संस्थाले गरेको कार्य अवधिभित्र संस्थाको दीगो विकासको लागि केही सुधारका कार्यहरु पूरा गरेको बताउनुभयो । उहाँले संस्थाले सदस्यको पहिचान र लक्षित वर्गको शिक्षा, स्वास्थ्य र वित्तिय साक्षरता जस्ता कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।
विशिष्ट अतिथि गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ती कोइरालाले मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थाले राहत कोष वितरण, जेष्ठ नागरीक सम्मान जस्ता विभिन्न किसिमका सेवामुलक कार्यहरु गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने कुरामा विश्वस्त रहेको बताउनुभयो ।
संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहसचिव वसन्तकुमार श्रेष्ठले मुन्दपुर बचत तथा ऋण सहकारी संस्थाले सुरुवातदेखि नै विभिन्न किसिमका सामाजिक, आर्थिक र नैतिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै परिवार राहत कोष, विप्रषण सेवा, सुत्केरी पोषण कार्यक्रम, जेष्ठ नागरीक सम्मान कार्यक्रमहरु, आधुनिक डिजिटल बैंकिङ सेवा जस्ता सेवाहरु प्रदान गर्दै आएको बताउनुभयो ।
कोषाध्यक्ष नारायण प्रसाद कंडेलले आर्थिक प्रतिवेदन वाचन गर्दै संस्थाका शेयर सदस्य संख्या ५ हजार ४ सय ९७ जना, संस्थाको शेयर पूँजी रकम जम्मा ३ करोड ९८ लाख ९६ हजार ४ सय र संस्थामा ३३ करोड २४ लाख ४४ हजार २३ रुपैयाँ बचत र ३० करोड ४८ लाख ३५ हजार ३ सय ७६ रुपैयाँ लगानी रहेको बताउनुभयो ।
कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पूण्यप्रसाद पौडेलले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष रामचन्द्र धितालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष गोविन्द सुवेदी, जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुली, वडा नं. १० का वडा अध्यक्ष देवीदत्त कँडेल, मुकुन्दपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शेषकान्त देवकोटा, मुकुन्दसेन दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरज लामिछानेले सञ्चालन गर्नुभएको थियो ।
मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्य नभएका व्यक्तिहरुलाई संस्थाले आज निःशुल्क सदस्यता विरण गरेको थियो । ७५ वर्ष पुगेका सेयर सदस्यहरुलाई मह प्रदान गरिएको थियो । कार्यक्रममा जनता माविका विद्यार्थीहरूले झ्याउरे मगर नृत्य प्रदर्शन गरेका थिए ।