आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना गरी मनाइँदै

२०८१ कार्तिक २२ बिहीबार ०६:१३:०० मा प्रकाशित

छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै छ । तीन दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउन लागिएको हो । 
छठ पर्वको मुख्य दिन भएकाले सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । मिथिला क्षेत्रमा विशेष हर्षोल्लासपूर्वक मनाइने यो पर्वको रौनक पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि विशेष हुने गरेको छ ।
कुनै समय तराईमा मात्र मनाइने यो पर्व समयसँगै पहाडतिर उक्लिन थालेको हो । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
शुक्रबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट् राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
छठ पर्वको अवधिमा कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एकछाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एकछाक फलाहार गरिन्छ । 
यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिई रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।