चितवनमा बेलुका ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने, राजनीतिक विषय उठाउन नपाइने
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको छ । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।
साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने प्रशासनले जनाएको छ । कानून विपरित जुवातास, लङ्गुरबुर्जा खेल्ने÷खेलाउने, भुईचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोगलाई निषेध गरिएको छ । तिहारको समयमा दियो, मैनवत्ती, पालहरु एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी जस्ता विपद्का घटना घट्न सक्ने भएकोले यस्ता कार्यहरु गर्दा पुर्ण रुपमा सजगता अपनाउन आग्रह गरिएको उनले बताए ।
प्रशासनको सूचना विपरितको कार्य गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।