नारायणगढ–बुटवल सडक विस्तार योजनाको ५३ प्रतिशत प्रगति
चितवन । नारायणगढ–बुटवल सडक आयोजनाको कामका लागि तेस्रो पटक थपिएको म्याद सकिन लाग्दा समेत ५३ प्रतिशत मात्रै प्रगति भएको छ । २०७९ सालको साउनमा काम सक्ने गरी २०७५ सालको माघमा सम्झौता भए पनि अहिलेसम्म ५३ प्रतिशत मात्रै काम भएको हो । नारायणगढदेखि दाउन्नेसम्म एकतर्फी ३२ किलोमिटर सडक कालोपत्र भएको छ ।
तेस्रो पटक थपिएको म्याद अब दुई महिना मात्रै बाँकी छ । निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले पाएको हो । पटक पटक म्याद थप्दा पनि काम नसकेपछि आउँदो डिसेम्बर महिनापछि ठेक्का तोड्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।
काम भइरहेका सडकमध्ये नारायणगढ–बुटवल खण्डमा काम कम भएकोले ठेक्का तोड्न लागेको उहाँको भनाइ छ । CIN