स्वास्थ्य सेवामा थन्थाप गैँडाकोट र रोटरी, ४९१ जनाको स्वास्थ्य परीक्षण
गैँडाकोट । थन्थाप गैँडाकोट समाज र रोटरी क्लब अफ गैँडाकोटको आयोजनामा गैँडाकोटमा शुभकामना आदानप्रदान, चियापान एवम् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रममा भएको शिविरमा ४९१ जनाले स्वास्थ्य परीक्षण गराएको कार्यक्रम संयोजक, रोटरी कल्ब अफ गैँडाकोटका पूर्व अध्यक्ष एवं थन्थाप गैँडाकोट समाजका सल्लाहकार करुणासागर सुवेदीले जानकारी दिनुभयो ।
रोटरी कल्ब अफ कावासोती, स्वास्थ्य सेवा क्लिनिक (नेपाल फर्मा), मौलाकालिका स्वास्थ्य क्लिनिक, तिलगंगा आँखा अस्पताल प्रतिष्ठान, जीवन सिटि अस्पताल र कालिका मन्दिर कालिका आश्रमको सहकार्यमा भएको उक्त शिविरमा २२६ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ३६ जनामा मोति विन्दु देखिएको छ । अन्य २६५ जनाको स्त्री तथा प्रसुति रोग, जनरल फिजिसियन, बाल रोग, हाडजोर्नी तथा नसा सम्बन्धि रोग जाँच गरिएको थियो । ११० जनाको निःशुल्क थाइराइड परीक्षण गरिएको थियो । स्वास्थ्य सेवा क्लिनिक (नेपाल फर्मा)ले थाइराइड जाँचका लागि सहयोग गरेको छ ।
भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग विभाग प्रमुख डा. सुनिलमणि पोख्रेल, बालरोग विशेषज्ञ डा. खेमराज पौडेल, फिजिसियन एवं रोटरी क्लब अफ गैँडाकोटका पूर्व अध्यक्ष डा.प्रमोद पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषत्र डा.मनोज कँडेल, आँखा रोग विशेषज्ञ डा.पोलिना दाहाल लगायतको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए ।
थन्थाप गैँडाकोट समाजका अध्यक्ष तिलकप्रसाद कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ का असिस्टेन्ट गर्भनर अशोक कुमार बस्नेत रहनुभएको थियो । उद्घाटन कार्यक्रममा थन्थाप समाज गैँडाकोटका संस्थापक अध्यक्ष कमल सुवेदी, रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष रमेश काफ्ले, पूर्व अध्यक्ष श्रीनिवास पौड्याल, कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष पिताम्बर सापकोटा, विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटा, रोटरी क्लव अफ कावसोतीका संस्थापक अध्यक्ष भरत पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
थन्थाप समाज गैँडाकोटका सचिव डिल्लीराज आचार्यले उद्घाटन कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।