गैँडाकोट । गैँडाकोट ५ स्थित प्रस्तावित गैँडाकोट आधारभूत अस्पताल (गैँडाकोट स्वास्थ्य चौकी)मा बिहीबारदेखी रेबिज विरुद्धको भ्याक्सिन सेवा शुभारम्भ भएको छ ।
तत्काललाई सार्वजनिक विदाको दिन बाहेक अन्य दिन उक्त भ्याक्सिन सञ्चालन हुने जनाइएको छ । पहिलो दिन नै गैँडाकोटका दुई जनाले रेबिज विरुद्धको भ्याक्सिन सेवा लिएका छन् ।
भ्याक्सिन सेवा शुभारम्भ कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सकेसम्म रेबिजको सङ्क्रमण हुन सक्ने कुनैपनि जनावरको टोकाइबाट जोगिन आग्रह गर्दै यदि टोकीहालेमा समयमा नै भ्याक्सिन लगाई उपचार गर्न आग्रह गर्नुभयो । नगरप्रमुख अधिकारीले यहाँ क्रमश सेवा थप गरेको बताउँदै त्यस्ता सेवा आवश्यकताको आधारमा नगरवासीले उपयोग गर्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
गैँडाकोट ५ का वडा अध्यक्ष एवं गैँडाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद सापकोटाले स्वास्थ्य चौकीलाई गैँडाकोट आधारभूत अस्पतालका रुपमा विकास गर्न लागिएकोले सेवा पनि विस्तार गर्दै लगिएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक माधव आचार्यले कुकुर, चमेरा, मुसा, बिरालो, बाँदरले टोकेको खण्डमा तत्कालै रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्ने बताउनुभयो । अन्यथा ज्यानै जान सक्ने उहाँको भनाई छ । उहाँले सो अवसरमा ल्याब सेवा समेत सञ्चालन गरिएको जानकारी दिनुभयो । ल्याब सेवा हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालनमा रहेको बताउनुभयो ।
जनप्रतिनिधि, गैँडाकोट नगरपालिकाका कर्मचारी, आधारभूत अस्पतालका व्यवस्थापन समिति, कर्मचारीहरू र सेवाग्राहीको उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको थियो ।