रास्वपा लाई सत्तापक्षले भन्यो: भीड जम्मा गरेर न्याय निरूपणलाई प्रभावित पार्ने काम नगर

२०८१ कार्तिक ७ बुधबार १३:४८:०० मा प्रकाशित

काठमाडौँ – सत्तारुढ दलहरूले न्याय निरूपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।

पार्टीका सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलका नेताहरूले न्याय निरूपणको प्रक्रियालाई प्रभावित गर्ने गरी विरोध प्रदर्शन नगर्न सचेत गराएको हो ।

संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा संसद्ले दिएको निर्देशनअनुसार लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धानको काम भइरहेका बेला त्यसलाई प्रभावित पार्ने काम नैतिक हिसाबले पनि उचित नहुने भएकाले त्यसो नगर्न आफूहरूले सो पार्टीलाई आग्रह गरेको सत्तारुढ दलहरूले बताएका छन् ।

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भीड जम्मा गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने, न्याय निरूपणको प्रक्रिया र अदालतलाई समेत प्रभावित तुल्याउने खालको रास्वपाको गतिविधि उचित नभएको निष्कर्ष निकाल्दै सबै सत्तारुढ दलहरूले पनि आ—आफ्नो तर्फबाट त्यसो नगर्न वक्तव्यमार्फत आग्रह गर्ने निर्णय पनि गरेको एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । बैठकले सो न्यायिक प्रक्रियालाई स्वतन्त्र, निष्पक्ष रूपमा अघि बढाउन सत्तापक्ष प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै पक्षको कुरा सुनेर अदालतले पनि आफ्नो निष्कर्ष दिने दिने विश्वास व्यक्त गरेको छ ।