टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

२०८१ कार्तिक ७ बुधबार १०:५४:०० मा प्रकाशित

चितवन - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ९ टिकौली जङ्गलमा गएराति दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मङ्गलवार राति ११ः२० बजेको समयमा पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट पश्चिम टाढीतर्फ जाँदै गरेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङ्कर एक आपसमा ठोक्किएको थियो । दुई वटा गाडी ठोक्किएपछि ट्याङ्कर पछाडि गुडिरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक पनि ठोक्किन पुगेको थियो । 

तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेस प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२ बस्ने अन्दाजी २६ वर्षीय अनीश स्याङ्तानको राति ११ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

सोही ट्रकका सह चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय आशिष् स्याङतान मध्यम घाइते भई भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।  ना ८ ख ८६७४ नम्बरको ट्याङ्कर चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानी बस्ने वर्ष ३६ को सुदिप तामाङ गम्भीर घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । 

ट्याङ्करको पछाडि ठोक्किने ना ६ ख ४६२४ नम्बरको ट्रक चालक धादिङ गजुरी गाउँपालिका–२ बस्ने वर्ष ३७ को दीपक रोक्कालाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले नियन्त्रणमा लिएको छ ।