अमर बचत सहकारीको २५ औं साधारण सभा सम्पन्न

२०८१ कार्तिक ४ आइतबार १२:५९:०० मा प्रकाशित

गैंडाकोट । अमर बचत ऋण तथा सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

अमर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुलप्रसाद अधिकारीले संस्थाले बचत तथा ऋणका कार्यक्रमसँगैका वित्तीय कारोबार एवं हाल दूध, दहि, नौनी, घिउ, पनिर, कुराउनी बिक्री वितरण गर्दै आएको बताउनुभयो । संस्थालाई यो स्थानसम्म पुराउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभयो । 

संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले पछिल्लो वर्षमा गरेको प्रगती, वासलात वृद्धि, सेवा केन्द्र विस्तार, कार्यक्षेत्र विस्तार जस्ता कार्यले संस्थाका सेयर सदस्यहरुलाई अझै अगाडी बढ्ने उत्प्रेरणा मिलेको बताउनुभयो । 

प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव आनन्द कुमार शर्मा पंगालीले स्थानीय स्तरमा छरिएर रहेको स–सानो पूँजीलाई नियमित रुपमा बचत गरी उत्पादनमूलक कार्यमा ऋण लगानी गरी सदस्यको आर्थिक तथा सामाजिक स्तर माथि उकासी आत्मनिर्भर बनाउने संस्थाको मुख्य उद्देश्य रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा समेत सोही लक्षित कार्यक्रम तय गरिएको उल्लेख गर्नुभयो ।   

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष जितबहादुर गुरु∙ले अमर बचत तथा ऋण सहकारी संस्थाले अघिल्लो आर्थिक वर्षमा ९ करोड ३१ लाख ६० हजार ७ सय २१ रुपैयाँ आम्दानी गरेको उल्लेख गर्नुभयो । त्यस्तै उहाँले ८ करोड ४६ लाख २६ हजार ७ सय ३५ रुपैयाँ खर्च गरेको बताउनुभयो । अहिले संस्थामा ५ करोड ४१ लाख १७ हजार ८ सय शेयरपूँजी रहेको बताउनुभयो । संस्थाको ४६ करोड ४९ लाख ४० हजार ६ सय ४९ रुपैयाँ कुल सम्पत्ति रहेको उहाँले बताउनुभयो । 

लेखा संयोजक हरिभक्त कँडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्था मजबुत अवस्थामा रहेको बताउँदै बचत नियमित तथा समयमै ऋण असुली गर्न सजग रहन सुझाव दिनुभयो । 

साधारण सभामा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अवस्थाका केही व्यक्तिका कारण सहकारी बदनाम भइरहेको जनाउँदै संस्थाका गतिविधिमा सदस्य पनि सजग बन्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा गैँडाकोटका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, वडाअध्यक्षहरु गोपि कंडेल, विनोदकुमार मल्ल, कोकिसरा राना मगर, प्रेमराज तिमिल्सेना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उहाँहरुले अमर सहकारीले यस क्षेत्रका सदस्यहरुलाई आर्थिकरुपमा सशक्त बनाउन र कृषि तथा पशुपालन प्रवद्र्धनमा ठूलो सहयोग गरेको बताउँदै सदस्य केन्द्रित कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

अमर बचत तथा ऋण सहकारीमा अहिले ७ हजार ५ सय ६८ शेयर सदस्य रहेको व्यवस्थापक देवेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो । सो अवसरमा विभिन्न विधामा सम्मान एवं पुरस्कार प्रदान गरिएको थियो । 

सहकारीले ३ वटा सेवा केन्द्रबाट बचत तथा ऋण र २ वटा दुग्ध संकलन केन्द्रबाट दुग्ध, रासायनिक मल र दाना चोकरको कारोबार गर्दै आएको छ । वि.स. २०५४ सालबाट मासिक रु १०० का दरले बचत संकलन गरी सुरु गरेको सहकारीले वित्तीय तथा गैर वित्तीय सेवासँगै अन्य सामाजिक उत्तरदायित्वमार्फत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।