गैँडाकोटमा खुँडा, खुकुरी र तरबार लिएर सराय नाच प्रदर्शन

२०८१ कार्तिक १ बिहीबार १७:०२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा बिहीवार सराय नाच प्रदर्शन गरिएको छ । गुल्मी अर्घाखाचीबाट बसाइँसरी गैँडाकोट आएकाहरुले हातमा खुँडा, खुकुरी र तरबार लिएर पराम्परागत सराय नाच प्रदर्शन गरेका हुन् । 

गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटको आयोजनामा जनक नमुना मावि काँग्रेसचोकमा भएको कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदाभक्त अधिकारीले यस्ता संस्कृति संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । उपप्रमुख शान्ति कोइरालाले गैँडाकोटमा सम्भवत पहिलो पटक यस्तो सराय नाच प्रदर्शन गरिएको बताउँदै यस्ता संस्कृति जर्गेनाका लागि पुस्तान्तरण जरुरी रहेको बताउनुभयो । कार्यक्रममा वडाअध्यक्ष रत्नप्रसाद सापकोटाले गैँडाकोट ५ मा नै हुनु अझै महत्त्वपूर्ण र स्वागतयोग्य रहेको बताउनुभयो । 

गुल्मी अर्घाखाचीबाट बसाइँसरेर आएकाहरुबीच एकता कायम गरी संस्कृति जर्गेनाका लागि पनि दसैँ सराय नाच तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो । 

गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटका सह सचिव बाबुराम पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्दै सराय नाच असुर (राक्षस)सँगको लडाइमा सत्यको विजय भएपछि सत्यका पक्षधरहरुले विजयोत्सवस्वरूप मनाउन थालिएको बताउनुभयो । 

उद्घाटन कार्यकमको सहजिकरण समाजका सचिव इश्वरीप्रसाद घिमिरेले गर्नुभएको थियो । काँग्रेसचोकदेखी कालिकाचोक स्थित कालिका मन्दिर कालिका आश्रम पुगी देवी विसर्जनसँगै सराय नाँच प्रदर्शन गरिएको थियो । 

मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय नाचको छुट्टै महिमा रहेको छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष रूपमा मनाइन्छ । हिन्दुहरुको महान चाड विजयादशमीका अवसरमा शक्तिपीठहरुमा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मनोरञ्जनात्मक रुपमा यस्ता नाच नाच्ने गरिन्छ । 

दैत्य र दानवमाथि देवी देवताले विजय हाँसिल गरेपछि त्यसको खुसियालीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान गर्न थालिएको किंवदन्ती छ । युद्धमा प्रयोग भएका खुँडा, खुकुरी, तरबार, भाला, लठ्ठी, ढाल लगायतका घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिनेगरी सराय नाच नाचिन्छ ।