गैँडाकोट १७ का ज्येष्ठ नागरिकलाई सम्मान तथा धार्मिक क्षेत्र अवलोकन गराइयो

२०८१ असोज २० आइतबार १३:५८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर १७ ले वडाका ज्येष्ठ नागरिकलाई सम्मान तथा धार्मिक क्षेत्रको अवलोकन गराएको छ । 

गैँडाकोट १७ नम्बर वडा कार्यालयले घटस्थापनाका दिन बिहीबार चितवन जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, पर्यटकीय एवं साँस्कृतिक स्थल तथा मठ मन्दिरको अवलोकन गराएको हो । सो क्रममा चितवन, नवलपुर र तनहुँको संगम पवित्र तिर्थस्थल देवघाटधाम, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मौलाकालिका मन्दिरको दर्शन एवं मौलाकाली केबलकार यात्रा गराइएको गैँडाकोट नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष गोपी कंडेलले जानकारी दिए । 

वडाले वजेट सिमाका कारण गतवर्ष ३ वटा टोलका ज्येष्ठ नागरिकहरुलाई देवघाटधाम, मौलाकालिका मन्दिरको दर्शन गराएको थियो । अहिले बाँकी २ वटा टोलका ज्येष्ठ नागरिकलाई देवघाटधाम र मौलाकालिका मन्दिरको दर्शन गराईएको उनले बताए । गतबर्ष सबैलाई एक साथ लान मन भए पनि बजेट अपुग भएका कारण लान नसकिएकाहरुलाई अहिले तिर्थस्थलको दर्शन गराइएको वडा अध्यक्ष कंडेलले बताए । 

वडाले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान, सहयोग, अवलोकन एवं धार्मिक स्थलको भ्रमण गराउने गरेको उनले जानकारी दिए । उनले भने, “ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सांस्कृतिक, नैतिक र व्यावहारिक सबै पक्षले उचित छ । एउटा उदाहरणीय र सहयोगी समाजलाई बढावा दिनका लागि पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्नु अति आवश्यक छ ।”
ज्येष्ठ नागरिक वर्षौंको परिश्रम र अनुभवबाट आर्जित ज्ञानको भकारी हुन् । सामान्य जीवन जिउने तरिकादेखि कृषि, पूर्वाधार, शैक्षिक, व्यवस्थापकीय आदि ज्ञान र अनुभव हुन्छ । यसलाई मार्गदर्शनका रूपमा उपयोग गर्न सकियो भने सबैलाई फाइदा हुने वडा अध्यक्ष कँडेलले बताए । 

ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वास्थ्य र मर्यादित जीवनशैलीको प्रवर्धन तथा उनीहरूमाथि हुने दुव्र्यवहार, हिंसा र विभेदको रोकथामका लागि वडा सदैव प्रतिवद्ध रहेको समेत गैँडाकोट १७ का वडा अध्यक्ष गोपी कंडेलको भनाई छ । 

वडाका ज्येष्ठ नागरिकले धार्मिक स्थलको दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनीहरुले वडाले गरेको कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन सुझाव दिएका थिए । सो अवसरमा वडाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।