असोज १२ मा गैँडाकोटमा रेबिज विरुद्धको निःशुल्क खोप
गैँडाकोट । गैँडाकोट नगरपालिकाले यहि असोज १२ गते नगर क्षेत्रका घरपालुवा कुकुरहरुलाई रेबिज रोग विरुद्धको निःशुल्क खोप लगाउने भएको छ ।
गैँडाकोट नगरपालिकाको पशु सेवा शाखा र हर्कपुर गरी दुई स्थानबाट एकैसाथ रेबिज रोग विरुद्धको खोप लगाउन लागेको हो । ‘अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ’ भन्ने नारा सहित असोज १२ गते मनाउन लागिएको विश्व रेबिज दिवसका अवसरमा उक्त दिन निःशुल्क खोप लगाउन लागिएको हो ।
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले नगरमा रहेका इच्छुक व्यक्तिहरुलाई आफ्नो घरपालुवा कुकुर ल्याएर खोप लगाई रेबिज उन्मुलनमा हातेमालो गर्न आग्रह गर्नुभयो । उक्त सेवा असोज १२ गते बिहान ११ बजेदेखी ३ बजेसम्म सञ्चालन हुने समेत जानकारी दिनुभयो ।