किड्स होम एकेडेमीका विद्यार्थी र गैँडाकोट नगर प्रमुखको सवालजवाफ
गैँडाकोट १० स्थित किड्स होम एकेडेमीका विद्यार्थीले गैँडाकोट नगर प्रमुखसँग साक्षात्कार गरेका छन् । नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा विद्यार्थीहरुले नगरप्रमुख मदनभक्त अधिकारी समक्ष अन्तरक्रिया गर्दै नगर सभा सञ्चालन, नागरिक वडापत्र, विकास निर्माण कार्य लगायत विभिन्न प्रश्न समेत गरेका थिए । विद्यार्थीले राखेका जिज्ञाशाको नगर प्रमुख मदनभक्त अधिकारीले जवाफ दिनुभएको थियो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले विद्यार्थीहरुको ज्ञान अभिवृद्धिका लागि यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । किताबी ज्ञानमात्र नभई अध्ययन अवलोकनले पनि विद्यार्थीको क्षमता विकास हुने उहाँले बताउनुभयो ।
किड्स होम एकेडेमीका प्रबन्ध निर्देशक दलकुमारी थनेतले विद्यालयले किताबी ज्ञानमात्र नभई अध्ययन अवलोकन गराउँदै आएको बताउनुभयो । गैँडाकोट नगरपालिका समेत नदेखेका विद्यार्थीलाई नगरपालिकाबाट प्रदान गरिने सेवाबारे अवगत गराउन यस्तो कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।
किड्स होम एकेडेमीका प्रिन्सिपल वाशुदेव गैरेले विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै किताबी ज्ञानमात्र नभई अतिरिक्त ज्ञान समेत प्रदान गरिने बताउनुभयो । उहाँले स्थानीय पाठ्यक्रम ‘हाम्रो गौरव, हाम्रो गैँडाकोट’ विषय अन्तर्गत विद्यार्थीलाई अध्ययन अवलोकन गराइएको जानकारी दिनुभयो ।