सरस्वती निकेतनका विद्यार्थीलाई भव्य स्वागत एवं विदाई
गैँडाकोट । गैँडाकोट १ स्थित सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयले विद्यार्थीलाई एक समारोहकाबीच भव्य स्वागत एवं विदाई गरेको छ । बुधबार नारायणी रिसोर्ट नारायणी नदी किनारमा भव्य समारोहको आयोजना गरी कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई विदाई गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षाविद् डा. नारायणप्रसाद खनालले शिक्षा मानव जीवनमा अति आवश्यक रहेको बताउँदै अझ त्यसमा पनि विद्यार्थी जीवन अझ महत्त्वपूर्ण हुने बताउनुभयो । भोलीको भविष्य बनाउने समय भएकाले यसको भरपुर सदुपयोग गर्नुपर्ने बताउँदै उहाँले विद्यार्थीलाई मिहिनेत र लगनका साथ अघि बढ्न सुझाव दिनुभयो । उहाँले विदाई भएका विद्यार्थीलाई शुभकामना र र आगन्तुकलाई लगनशिल बन्न प्रेरणा प्रदान गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले विद्यार्थीलाई देशलाई माया गर्न र यहि सम्भावना खोज्न आग्रह गर्नुभयो । यदि विदेश जानैपरे उच्च शिक्षाका लागि मात्रै जाने र स्वदेशमा नै फर्किएर केही गर्न सुझाव दिनुभयो । उहाँले सरस्वती निकेतन यस क्षेत्रकै अब्बल विद्यालय रहेको बताउँदै ठूलो भवन होइन विद्यालयले दिने संस्कार हेर्न सम्पूर्णमा आग्रह गर्नुभयो । सरस्वती निकेतनमा पढेका विद्यार्थीहरुले देखाएको प्रतिभा र कमाएको ख्यातीले गर्व लाग्ने गरेको उहाँले बताउनुभयो ।
यस्तै सेन्ट्रल कलेज भरतपुरका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाईबी’ ले सरस्वती निकेतनले शिक्षामा फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले उच्च शिक्षाका लागि विदेश रोजाईमा राख्ने विद्यार्थीका लागि सेन्ट्रल कलेज सहयोगीका रुपमा रहने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले सरस्वती निकेतन विद्यालयलाई सर्वोत्कृष्ट बनाउन लागि परेको बताउनुभयो । साथै उहाँले विद्यालयले आइएसओ, आइएसए लगायत अन्तर्राष्ट्रिय मान्यता पाएको पनि बताउनुभयो । विद्यार्थीलाई परियोजना र व्यावहारिक शिक्षा दिदैँ समुदायमा अब्बल विद्यालयको रुपमा स्थापित रहेको बताउनुभयो । साथै त्यो गरिमा कायम राख्न आगामी दिनमा पनि विद्यार्थी, शिक्षक र अभिभावकसँगै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
शिक्षकहरुका तर्फबाट बोल्दै राजेन्द्र रेग्मीले विद्यार्थीको भविष्य बनाउन विद्यालयका सबै शिक्षक एवं सञ्चालक समितिले हरदम प्रयास गरिरहेको बताउनुभयो । विद्यालयका विद्यार्थी प्रशंसा तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरु ऋतु शर्मा र सुमन सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सरस्वती निकेतनका कक्षा १२ बाट १६० जना विद्यार्थी उत्तीर्ण भएकालाई विदाई गर्नुका साथै नवआगन्तुक ४१ जनालाई स्वागत गरिएको विद्यालयका सहायक प्रिन्सिपल लक्ष्मण कँडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा काठमाडौँ, पोखरा र त्रिभुवन विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीसँगै उत्कृष्ट अंक ल्याउने विद्यार्थी र उत्कृष्ट शिक्षक एवं अतिथिहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा विद्यार्थीहरुले नृत्यसँगै गायनकला प्रस्तुत गरेका थिए भने नोटेशन ब्याण्ड चितवन गु्रपको विशेष प्रस्तुती रहेको थियो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्मा, सञ्चालक समिति अध्यक्ष चोक्षादेवी देवकोटा कँडेल, जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व, शिक्षक, विद्यार्थी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।