स्मरणमा बुबा
जीवन सुख दुःखको सम्मिश्रण हो । एउटा शिक्षण सिकाइ गर्ने खुल्ला विश्वविद्यालय हो । यात्रा हो । जीवन जात्रा हो । जीवनमा सबै चिज जाने आउने क्रम चलिरहन्छ तर एउटा त्यो जो एकपटक गएपछि फर्किदैन मृत्यु ।
यो जीवनको साढे चार दशक पार गर्दासम्म जीवनमा अनेकौँ साथ सङ्गत भए । ती घरका, परका, तलका, माथिका आफन्त नै सबै । जीवनको गोरेटो सानो थियो । त्यो गोरेटो कसले तय ग¥यो भन्नेतर्फ स्व स्मृति खर्चँदै छु । भ्रुण अवस्थादेखि हालसम्म जीवनको हरेक यात्राको गोरेटोको माध्यम भनेको बुवा आमा नै हुनुहुन्छ । सायद हालसम्म स्मृतिको पाना पल्टाएर हेर्दा निस्वार्थ प्रेम बुबा आमाबाट मात्र हुन्छ भन्ने आभास भयो । जीवनको गोरेटो होस् या सम्पूर्ण यो प्राप्ति नै बुवा आमाको देन हो । मैले संसारमा जति प्राप्त गरेँ सबै बुबा आमाकै श्रेय नै ठान्छु । किनकि मलाई मेरो जीवनको गोरेटो सामान्य साक्षर बुबा अनि अनाक्षरिक आमाबाट त्यही सरस्वती पूजाको अक्षरारम्भको दिनदेखि आरम्भ भएको थियो जुन दिन २०७८ मैले मैरो बुवाको मृत्यु स्वीकारेकी थिएँ । जीवनको गोरेटोलाई अगाडि फराकिलो बनाउने दिन जुन दिन मेरो बुबाको मृत्यु भयो त्यही आज मैले मेरो सम्पूर्ण जीवनको पाठशालामा बुबा देखेकी छु ।
एक दिन बिहान आठ बजेको थियो होला । चैत्रको महिना थियो । गते चाहिँ याद भएन । बिहान कलेजबाट आएर भर्खर बसेकी थिएँ दाजुको फोन नं बाट फोन आयो । नमस्कार दाजु भने । कुराकानीलाई आगाडि बढाउने क्रममा दाजुले भन्नु भयो, “बुबा आउनु भएको छ, ल बुबासँग कुरा गर है ।”
फोन बुबालाई दिनुभयो । “सबै ठीक छ तर मेरो घाँटीमा केही समस्या छ । हल्का स्वर सुकेको छ, बुबाले भन्नुभयो ।” बोल्दा पहिलेको जस्तो स्वर थिएन । खै किन हो बुबाको स्वर र घाँटीको समस्या सुनेर मेरो शरीर फुलिए झै भयो । भित्रभित्रै डरसगैँ पाप पनि पलायो । एक मनले भन्यो कतै...। अर्को मनले फेरि होइन होला । बुबा अलि हटी स्वभावको हुनुहुन्थ्यो । गलत नगर्ने, कम अरुका कुरा सुन्ने, आफ्नो हट छोड्दै नछोड्ने, अत्यन्तै सकारात्मक सोच भएका । सुरुमा उहाँले चेक गर्न जानु पर्दैन । जडीबुटीले ठीक गर्छ भन्नुभयो । बुबा भारतको नागालयन तुरा भन्ने ठाउँमा जागिरकै सिलसिलामा बस्नु हुन्थ्यो । त्यही बिरामी परेर नेपाल आउनु भयो । नकारात्मक सोचाइ कहिल्यै नराख्ने यथार्थवादी । आमा गैँडाकोटको घरमा हुनुहुन्थ्यो । घराएसी जडीबुटीले ठीक गर्छ भन्नेहरुको जमात धेरै हुँने गाउँमा । फोन गर्दा कहिले आज ठीक जस्तो छ भन्ने कहिले खै भन्दा आमा आतालिन थाल्नु भयो । झण्डै १२–१५ दिन भयो ।
दाजुले एक दिन भन्नुभयो, “मैया बुबाले यो समस्यालाई हल्का लिनु भएको छ, मलाई त डर लाग्यो । सन्धीखर्क लगेर ल्याए पाँच दिन औषधी खाने, नभए भरतपुर लैजाने सल्लाह दियो । त्यतैतिर ल्याउनु पर्छ जस्तो लाग्यो ।” मैले भने हुन्छ । त्यसो हो भने छिटो ल्याउनु ।
मैले डाक्टर गङ्गासँग सल्लाह गरेँ भरतपुर क्यान्सर अस्पतालमा । प्रोसेस चाल्दा नै ढिलो हुन्छ छिटो नै गरौँ उपचार भनेर सल्लाह गरेर प्राइभेटमा चेक गरायौँ । हामीलाई छिटोभन्दा छिटो रोगको निदान गर्नु थियो । स्वर मात्र सुकेको आवाज केही लुकेको मात्र बाबा हट्टाकट्टा नै हुनुहुन्थ्यो । हँसिला, खुसिला, रमाइला हुनुहुन्यो बुबा । ब्लडको रिपोर्ट कुनै ठीक कुनै कम कुनै बढी त्यस्तै त्यस्तै आयो । बायोप्सिको पर्खाइमा बसियो । बहत्तर घण्टामा आयो । बाबालाई लगेनौँ रिपोर्ट लिन भाइ र म गयौँ । रिपोर्ट पोजेटिभ आयो । राम्रो छैन । तेस्रो स्टेपको छ । डाक्टर ग∙ालाई नै रिपोर्ट देखाउन गयौँ । ओहो बर्बाद भएछ । यो भर्खरको समस्या होइन धेरै नै ढिलो भैसकेछ दुई तीन वर्ष पहिले नै मासु पलाएको र क्यान्सर पैदा भएको रैछ । कस्तो ठाउँमा छ आज सबै हेरौँ । मिल्ने भए आगाडि बढौलाँ नभई भगवान भरोसा । जतिदिन रहनुहुन्छ । हामी दिदीभाइ रोयौँ ।
डा. गङ्गा सापकोटालाई भन्यौँ हामीलाई यथार्थ सल्लाह दिनुहोस् ? दिल्ली लैजान्छौँ हामीले भन्यौँ । अर्घाखाँची दाजुलाई जानकारी गरायौँ । एकछिन दाजु पनि निःशब्द हुनुभयो । त्यहाँभन्दा दिल्ली मेदान्तमा लैजाने भन्नुभयो । पुनः रिपोर्ट आउदाँ त्यसको डायलोसिस गर्ने उपयुक्त ठाँउमा पनि छैन । घाँटीको भोकल नसादेखि लस्करै फोक्सोसम्म फैलिएर बसेको छ भन्नुभयो । त्यो एक ठाउँ बुझेर मात्र हाम्रो चित्तले मानेन । अर्को प्रयोगशालामा पनि लग्यौँ । रिपोर्ट एउटै आयो । जे खानुहुन्छ, जे गर्न मन छ सबै दिनु । डाक्टरको सल्लाह कतिदिन रहनुहुन्छ भगवान भरोसा । केही अन्य डा. विशेषज्ञको सल्लाह पनि लियौँ । एउटै सल्लाह आयो । अब केही बाँकी रहेन । हाम्रो दिल्ली लैजाने चाहना पनि तुहियो । बाबालाई हेर्छौ केही भाको जस्तो छैन । हट्टाकट्टा नै हुनुहुन्छ । रिपोर्टको लागि केही मिनी अप्रेशन गर्नु प¥यो । त्यसको लागि र पीडा कम गर्ने औषधी मात्र दिनुभयो । त्यो लिएर घर आयौँ ।
आमा कोमल मनकी हुनुहुन्छ । उहाँलाई थाहै नदिने निणर्य ग¥यौँ । आमाको अनुहार पढेपछि बुवाले थाहा पाउनु हुन्छ अनि आत्मबल कमजोर भइ व्यथाले हेप्छ भनेर हामी आमासँग झुट बोल्न बाध्य भयौँ । आमालाई भन्यौँ, “खासै केही छैन रे । औषधी दिनु भाछ । निको हुन्छ ।” बाबालाई पत्तै भएन । केही छैन भनेपछि बुबा ढुक्क हुनु भो ।
दाजु, भाइ र मलाई भने घरको छानो भत्केर हामीलाई च्यापे सरह भयो । बाबाको अगाडि रुनु छैन । दिनदिन आँसुका भेल अरुलाई लुकाएर बगेका थिए । हरे भगवान ! बाबाको मृत्यु अँगाडि उभिएको छ । अब बाबाको यो भौतिक शरीर हामीबिच टाढिदैँ छ ।
घरमा नियमित औषधि खुवाउने जिम्मा आमा र भाइको भयो । भाइले सिएमए पनि पढेकाले औषधि आहार बिहार के ? कसरी ? कति ? कस्तो ? खुवाउने सबै जानकारी थियो । हामीलाई समस्या परेन । अब बाँकी बाबाको इच्छानुसार सबै गरिदिने मात्र थियो । घुमाएर रमाउन लैजाने ठाँउ नवलपुर अनि चितवन वरिपरिका मठमन्दिर सबैतिर लग्यौँ । डाक्टरको अनुसार तीन चार महिना मात्र बुबा रहने कुरा थियो । नियमित आहार–बिहार पारिवारिक स्नेह अनि बुबाको आत्मबलका कारण झण्डै डेढ वर्ष बुबालाई बचायो । त्यो दुखद् दिन स्मरणमा छ भगवानको पहिलो रूप बुबालाई गुमाउन परेको दिन हो । त्यही २०७८ फागुन ४ गते प्रारम्भ राति एक बजे श्रीपञ्चमी, सरस्वती पूजा वा अक्षरारम्भकै दिन बुबाको त्यो भौतिक शरीरलाई हामीमाझ चुँडेर दैवले लग्यो ।