विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । धनुषा, सिन्धुली, बाजुरा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्रबजारस्थित सडकमा सुप्र ०१-००१ ख ३२८८ नम्बरको बसले प्र-२-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार गणेशमान चारनाथ नगरपालिका-१ बस्ने ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर र अटो चालक सोही ठाउँ बस्ने ४० वर्षीय डमर राईको मृत्यु भएको छ ।
शनिवार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका धनबहादुर र डमरको न्युरो अस्पताल जनकपुर तथा निशा र शम्भुको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, सिन्धुलीको सुनकोसी गाउँपालिका-६ पुछिघाट पुलस्थित सडकमा ना.६ त. ६५४४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका-४ बस्ने २२ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ जीवन अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, रुकुम पूर्वको भूमे गाउँपालिका-१ स्यावालस्थित सडकमा रा.१ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई शनिवार साँझ दुर्घटना हुँदा अटोमा सवार भूमे गाउँपालिका-१ लुकुम बस्ने ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सविता घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै बाजुराको बुढीनन्दा नगरपालिका-७ सास्थास्थित सडकमा सु.प.प्र. ०१-००१ ख ३१८१ नम्बरको बस शनिवार दिउँसो अनियन्त्रित भई दुर्घटना हुँदा बसका सहचालक बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने २४ वर्षीय गणेश जोशीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मार्तडीमामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ८ जनाको नवजीवन अस्पताल धनगढी, ५ जनाको जिल्ला अस्पताल मार्तडी र १ जनाको कोल्टी अस्पताल बाजुरामा उपचार भइरहेको छ ।
हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।