सङ्गीत साधक रविनदासको निधन

२०८१ भदौ १८ मंगलबार ०७:०१:०० मा प्रकाशित

काठमाडौँ । शास्त्रीय सङ्गीत साधक रविनदास श्रेष्ठको हृदयाघातका कारण शनिबार राति निधन भएको छ । काठमाडौँ ठमेलस्थित निवासमा श्रेष्ठको निधन भएको हो । स्वर्गीय श्रेष्ठको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ । श्रेष्ठका साथी डा. रमेश पोखरेलका अनुसार हिजो बेलुकाबाट नै श्रेष्ठले हल्का असहज महसुस गरिरहनुभएको थियो । एकछिन  काम छ भनेर कोठामा छिर्नुभएका श्रेष्ठको त्यहीँ निधन भएको थियो । उहाँकी श्रीमती कोठामा जाँदा श्रेष्ठ ढलिरहनुभएको अवस्थामा पाइएको थियो ।

किराँतेश्वर, राम मन्दिर, यलमाया केन्द्रलगायत काठमाडौँमा हुने शास्त्रीय उत्सवमा श्रेष्ठको उपस्थिति रहने गरेको थियो । ललितपुर क्याम्पसबाट सङ्गीतमा स्नातक गर्नुभएका श्रेष्ठले बनारसमा एमए गरी सन् २००३ मा नेपाल फर्किनुभएको हो । नेपाल फर्किएपछि रत्नराज्यलक्ष्मी क्याम्पसमा आंशिक शिक्षकका रूपमा प्राध्यापन गर्न थाल्नुभएको थियो । उहाँ ललितकला केन्द्रीय विभागमा समेत शास्त्रीय सङ्गीत अध्यापन गर्नुहुन्थ्यो । रत्नराज्यलक्ष्मी क्याम्पसको बिहानी सत्रको सहायक क्याम्पस प्रमुखसमेत रहनुभएका श्रेष्ठको श्रीमती र एक छोरी हुनुहुन्छ । उहाँको निधनप्रति रत्नराज्यलक्ष्मी क्याम्पसले श्रद्धाञ्जली व्यक्त गर्दै भदौ १८ गते क्याम्पस बिदा दिने निर्णयसमेत गरेको छ ।