प्रेस काउन्सिलको वर्गीकरणमा विजय खबर ‘ख’ वर्गमा 

२०८१ श्रावण २२ मंगलबार १५:०९:०० मा प्रकाशित

गैंडाकोट । प्रेस काउन्सिल नेपालले विजय खबर साप्ताहिक पत्रिकालाई ‘ख’ वर्गमा सूचीकृत गरेको छ । 

प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७८/०७९ को पत्रपत्रिकाको वर्गीकरणको नतिजा सार्वजनिक गर्दै विजय खबर साप्ताहिकलाई ‘ख’ वर्गमा राखेको हो । काउन्सिलले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा शुक्रबार नतिजा सार्वजनिक गरेको हो । विजय खबर नवलपरासीबाट प्रकाशन हुने एकमात्र प्रदेश स्तरीय पत्रिका हो । वर्गीकरणले पत्रिकाको गुणस्तर निर्धारण गर्दछ ।  

गैँडाकोटबाट प्रकाशन हुँदै आएको विजय खबर पत्रिका गण्डकी प्रदेशका ११ जिल्लासँगै छिमेकी प्रदेश एवं जिल्लाका पाठकबीच लोकप्रियता हासिल गर्दै आइरहेको पत्रिका हो । विजय खबर पत्रिका स्थापनाकालदेखी नै निरन्तर ‘ख’ वर्गमा पर्न सफल पत्रिका पनि हो । 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा २०७२ साल कात्तिक २४ गतेदेखि विजय खबर साप्ताहिक पत्रिकाको प्रकाशन शुभारम्भ गरिएको थियो । नेपालको संविधान २०७२ जारी भई नयाँ नेपालका रुपमा प्रवेश गरेको सन्दर्भमा साथै भारतीय नाकाबन्दीले थलिएको तत्कालीन समयमा विजय खबरले विजयको सन्देश लिएर आएको थियो । समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण र समाजमा सूचनाको पहुँच स्थापित गर्न निरन्तर ९ वर्षदेखी यस क्षेत्रका पाठकहरुका लागि विभिन्न लेख, रचना, सूचना, सन्देश, समाचार प्रकाशन गर्दै आइरहेको छ ।  

नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) गरी दुवै जिल्लाबाट प्रकाशन हुने ९ वटा पत्रिकाले वर्गीकरणका लागि आवेदन दिएकोमा ७ वटा मात्रै वर्गीकरणमा परेका छन् । नवलपरासीबाट प्रकाशन हुने (दुबै जिल्लाका) बर्दघाट पोष्ट दैनिक, सामथ्र्य साप्ताहिक, नमुना सन्देश साप्ताहिक, जनअर्पण साप्ताहिक, दाउन्ने साप्ताहिक ‘ख’ वर्गमा छन् । स्थानीयपत्र साप्ताहिक ‘ग’ वर्गमा छ । दैनिक लुम्बिनीको कर चुक्ता र परासीपत्र साप्ताहिकको अंक नपुग भइ स्थगनमा परेका छन् ।    

काउन्सिलका अनुसार देशभरबाट वर्गीकरणका लागि ९ सयवटा पत्रपत्रिकाले आवेदन दिएकामा ७ सय ९३ वटा मात्र वर्गीकरणमा परेका छन् ।

काउन्सिलका अनुसार ७० पटा पत्रपत्रिकाको नतिजा कागजात अपुग भई स्थगन गरिएको छ । ३७ वटा पत्रपत्रिका हुबहुमा परेर वर्गीकरण गरिएको छैन ।

काउन्सिलका अनुसार कुल १ सय ७५ वटा ‘क’ वर्गमा, ४ सय २ वटा ‘ख’ वर्गमा २ सय १६ वटा ‘ग’ वर्गमा परेका छन् । यसपटक ‘घ’ वर्गमा कुनै पत्रिका परेका छैनन् । 

१ सय १८ वटा पत्रिका राष्ट्रियस्तरका, १ सय ४३ वटा पत्रिका प्रदेशस्तरका, ५ सय ३२ वटा स्थानीयस्तरका रहेका छन् । दैनिक १ सय ७३ वटा वर्गीकरणमा परेकामा अर्धसाप्ताहिक २ वटा, साप्ताहिक ४ सय ६५ वटा, पाक्षिक १३ वटा, मासिक ६० वटा, द्वैमासिक ५ वटा, त्रैमासिक ८ वटा, साहित्यिक ५५ वटा, भाषाभाषी १२ वटा वर्गीकरणमा परेका छन् ।