गैँडाकोट नगरपालिकाको लक्ष्य अनुरुप आम्दानी हुन सकेन

२०८१ श्रावण १० बिहीबार १७:१६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य अनुरुप आम्दानी गर्न सकेन । लक्ष्य भन्दा १४ करोड ५० लाख ३८ हजार ८ सय ५३ कम आम्दानी भएको हो । 

गत आर्थिक वर्षमा नगरपालिकामा ९४ करोड ३७ लाख ५ हजार १ सय ४६ रुपैयाँ वास्तविक आम्दानी भयो । १ अर्ब ८ करोड ८७ लाख ४४ हजार आम्दानी हुने अनुमान गरिएकोमा उक्त आर्थिक वर्षमा ९४ करोड ३७ लाख ५ हजार १ सय ४६ रुपैयाँ मात्रै आम्दानी भएको गैँडाकोट नगरपालिकाले जनाएको छ । नगरपालिकामा ८६.६७ प्रतिशत आम्दानी भएको हो । 

प्रस्ताव गरिए भन्दा संघीय सरकारबाट ३ करोड कम आएको छ । समानिकरण अनुदान १ करोड १२ लाख, शसर्त अनुदान चालुतर्फ १ करोड ६९ लाख, शसर्त अनुदान पूँजिगततर्फ २२ लाख कम आएको हो । विशेष अनुदान पूँजिगत र समपुरक अनुदान पूँजिगततर्फ भने सत प्रतिशत रकम प्राप्त भएको थियो । 

त्यस्तै प्रदेश सरकारबाट पनि प्रस्ताव गरिए भन्दा ८२ लाख ७५ हजार रुपैयाँ कम बजेट आएको छ । 

राजश्व पनि तोकिए अनुरुप संकलन गर्न सकेन । राजस्व बाँडफाँडबाट तोकिए भन्दा ५ करोड ५३ लाख कम संकलन भएको छ । राजस्व बाँडफाँडबाट १८ करोड ८१ लाख हुने अनुमान गरिएकोमा मात्र १४ करोड २७ लाख आएको थियो । 

आन्तरिक श्रोत केही सुधार भएपनि लक्ष्य अनुरुप हासिल हुन सकेन । आन्तरिक श्रोतबाट ३३ करोड ३ लाख हुने प्रक्षेपण गरिएको थियो । जुन २७ करोड ९३ लाख ७८ हजार ३ सय ९३ मात्रै वास्तविक आम्दानी भयो । आन्तरिक श्रोत पनि प्रस्तावित आय भन्दा ५ करोड ९ लाखले कम हो ।  

आन्तरिक श्रोततर्फ नगरपालिकाले सबै भन्दा बढी भूमिकर/मालपोतबाट आम्दानी गरेको छ । जसमा ६ हजार ५ सय २७ प्रतिशतले वृद्धि भयो । यसमा १ लाख १० हजारमात्रै हुने प्रस्ताव गरिएकोमा ७१ लाख ८० हजार ३ सय ९८ रुपैयाँ संकलन भएको थियो । सम्पत्ति कर पनि आधा भन्दा कम ४४ प्रतिशतमात्रै भयो । बहाल कर र बहाल विटौरी कर सत प्रतिशत रह्यो भने व्यवसाय बाहेक अन्यले भूक्तानी गर्ने र सवारी साधन कर (साना सवारी) मा आय शून्य रह्यो । मनोरञ्जन करमा मात्र ५५० रुपैयाँ बाहेक अन्य प्राप्त भएन ।
गैँडाकोट नगरपालिकाको बैंक मौज्दात १५ करोड २० लाख रहेको छ ।    

नगरपालिकाले स्वतः सार्वजनिक गरेको आय व्यय विवरणमा नगरपालिकाले गत आर्थिक वर्षमा आय भन्दा दुई करोड दुई लाख रुपैयाँ कम खर्च गरेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले ९२ करोड ३४ लाख ९८ हजार ४ सय ८८ रुपैयाँ खर्च गरेको छ । जुन आम्दानी भन्दा खर्च भएको रकम २ करोड २ लाख ६ हजार ६ सय ५८ रुपैयाँले कम हो ।  

खर्च भएको रकम मध्ये चालुतर्फ ९३.५८ प्रतिशत र पूँजीगत खर्चतर्फ मात्र ७१.७ प्रतिशत रहेको छ । 

चालुतर्फ १३ वटा शिर्षकमा सत प्रतिशत रकम खर्च भएको छ । जुन कर्मचारी र पदाधिकारीको सेवा सुविधासँग जोडिएका छन् । पोशाक, अन्य भत्ता, पदाधिकारी अन्य सुविधा, कर्मचारी कल्याण कोष, इन्धन (पदाधिकारी), इन्धन (कार्यालय प्रयोजन), इन्धन (अन्य प्रयोजन), कर्मचारी तालिम खर्च, अनुगमन मूल्याङ्कन खर्च, अन्य भ्रमण खर्च, सभा सञ्चालन खर्च, अन्य संस्था सहायता, सवारी साधन तथा मेशिनरी औजार भाडा, अन्य भाडा शिर्षकमा छुट्याइएको बजेट सत प्रतिशत खर्च भएको छ ।   

गत आर्थिक वर्षमा ४ वटा शिर्षकमा खर्च शून्य रहेको छ । औषधि उपचार खर्च, पानी तथा बिजुली, भैपरी आउने चालु खर्च र सवारी साधनको खर्च शून्य रहेको विवरणमा उल्लेख गरिएको छ ।