गैँडाकोट ८ स्थित आयुर्वेद औषधालय पुगे बाह्र हजार सेवाग्राही

२०८१ श्रावण १० बिहीबार १०:५७:०० मा प्रकाशित

गैँडाकोट । आयुर्वेद उपचारप्रति नागरिकको विश्वास बढ्दै गएपछि उपचारका लागि औषधालय पुग्ने बिरामीको सङ्ख्या पनि बढेको छ । 

गैँडाकोट ८ स्थित आयुर्वेद औषधालयमा एकवर्षमा १२ हजार १ सय ७७ सेवाग्राहीले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा आयुर्वेद औषधालय गैँडाकोटबाट १२ हजार १ सय ७७ सेवाग्राहीले सेवा लिएको तथ्याङ्क कार्यालयले राखेको छ । कार्यालयका प्रमुख कविराज विष्णुप्रसाद पौडेलले आयुर्वेदप्रति नागरिकको विश्वास बढ्दै गएको बताउँदै ठूलो संख्यामा बिरामी अर्थात सेवाग्राही आएको रेकर्ड रहेको उल्लेख गर्नुभयो । 

आर्थिक वर्ष २०७९/०८० मा १० हजार ८ सय बिरामी सेवा लिन पुगेका थिए भने त्यसअघिको आर्थिक वर्ष २०७८/०७९ मा ८ हजार २ सय जनाले आयुर्वेद सेवा लिएका थिए । पछिल्लो वर्ष लगातार २ हजार बढीले सेवा लिएका छन् । गत आर्थिक वर्ष आयुर्वेद औषधालय गैँडाकोट आएका बिरामीहरु मध्ये ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, बाथ रोग लागेका बिरामी बढी रहेको उहाँले बताउनुभयो । 

आयुर्वेद औषधालय आउने ३० वर्षदेखी ७० वर्षसम्मका नागरिक रहेपनि ज्येष्ठ नागरिकको संख्या बढी देखिने आयुर्वेद औषधालयका प्रमुख कविराज विष्णुप्रसाद पौडेलले बताउनुभयो । 
आयुर्वेद औषधालयले गतवर्षको महत्त्वपूर्ण उपलब्धीमा जनचेतना तथा आयुर्वेद स्वास्थ्य शिविरलाई राखेको छ । चेतना प्रवाह गरेकै कारण आयुर्वेद औषधीको प्रयोगकर्ता बढेको समेत उहाँको भनाई छ । उनले विभिन्न वडाका टोल–टोलमा समेत गएर आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रम गरेको बताउनुभयो ।

गत आर्थिक वर्षका लागि तय गरिएका सम्पूर्ण कार्यक्रम सम्पादन गरिएको उहाँको भनाई छ । निरोगी रहन पनि नियमित स्वास्थ्य जाँच र आयुर्वेद औषधी सेवन गर्न कविराज विष्णुप्रसाद पौडेलको आग्रह छ । आयुर्वेद औषधीले कुनै हानी नगर्ने भएकोले पनि आयुर्वेद औषधी नै प्रयोग गर्न उहाँको सुझाव छ ।