विद्युत विरुद्ध आन्दोलन, गैँडाकोटमा टायर बालेर चक्काजाम

२०८१ श्रावण ८ मंगलबार १२:३०:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकामा विद्युतमा देखिएका समस्याको विरुद्ध स्थानीयले चक्काजाम गरेका छन् । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा अगाडी पूर्व पश्चिम राजमार्गमा टायर बालेर करिब आधाघण्टा चक्काजाम गरेका हुन् । 

उनीहरुले विद्युत आपुर्ति राम्रोसँग नगरेको विद्युत अवरुद्ध भइहालेपनि समयमा नै मर्मत नगरेको भन्दै विरोधमा सडकमा नै उत्रिएका हुन् । सामान्यतया समस्याबारे जानकारी गराउँदा पनि विद्युत कार्यालयले वेवास्ता गर्ने गरेको उनीहरुको आरोप छ । 

ध्यानाकर्षण पत्र बुझाउन पुगेका नगरबासीलाई कार्यालयले बेवास्ता गरेपछि चक्काजाम गरी सडकमा नै उत्रनुपरेको स्थानीय गोकुल सापकोटाले बताउनुभएको छ । उहाँले होटल, डेरी, औषधी लगायतका उद्योगी व्यवसायी मर्कामा परेको, विद्यार्थी पढ्न समेत नपाएको नागरिक प्रभावित बन्दै गएपछि बध्यताले आन्दोलनमा उत्रनुपरेको बताउनुभयो ।   

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका उद्योगी अमृत भट्टचनले दुई वर्ष अघिदेखी विद्युतमा देखिएको समस्याले उद्योगी व्यवसायी मर्कामा परेको बताउनुभयो । नेपाली काँग्रेसका क्षेत्रिय सभापति समेत रहनुभएका उहाँले दिर्घकालिन रुपमा समस्या समाधान गर्न दवावका लागि आन्दोलन गरको बताउनुभयो । 
आन्दोलनमा गैँडाकोट २ का जनप्रतिनिधि समेत देखिएका थिए । गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटाले दिनानु दिन बढेको समस्या समाधानतर्फ ध्यान दिन आग्रह गर्दै चेतावनी दिदैँ मैदानमा उत्रिएको बताउनुभयो । 

चक्काजाम गरिएको स्थान गैँडाकोट नगरपालिकाको कार्यालय अघि समेत पर्छ । 

अहिले नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाका प्रतिनिधि र आन्दोलनकर्मीहरु छलफलमा बसेका छन् । आधाघण्टापछि चक्काजाम खुलेको छ । 

तस्वीर : गोविन्द रिमाल