गैँडाकोटका शिवालय मन्दिरहरुमा घुँइचो, बोलबम उत्सवसँगै सन्ध्या आरतीको शुभारम्भ गरिदैँ

२०८१ श्रावण ७ सोमबार ०६:१७:०० मा प्रकाशित

गैँडाकोट । साउनको पहिलो सोमबार आज गैँडाकोटका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । 

साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन काठमाडौँमा पशुपतिनाथ, गैँडाकोटका शिवालय मन्दिरहरु लगायतका देशैभरका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

बिहानैदेखी १०८ शिवलिङ्ग रहेका स्थानहरु गैँडाकोट ८ स्थित कालिका मन्दिर कालिका आश्रम, गैँडाकोट ७ स्थित हरिहर मन्दिर, गैँडाकोट ४ स्थित कोटेश्वर मन्दिर, गैँडाकोट २ स्थित गोपेश्वर मन्दिर, गैँडाकोट १७ स्थित त्रिपुरेश्वर हरिहर मन्दिर, मौलाकालिका मन्दिर लगायतका स्थानमा भक्तजनको भिंड लागेको हो । 

नेपालकै ठूलो महाशिवलिङ्ग र नर्मदेश्वर नदीबाट ल्याइएका १०८ शिवलिङ्गले सजिएको हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रम गैंडाकोट ७ गैरीमा बोलबम उत्सव एवं सामुहिक सन्ध्या आरतीको शुभारम्भ गर्न लागेको मन्दिरका अध्यक्ष डिलाराम सापकोटाले जानकारी दिनुभयो । 

साउन महिनाको सोमबारलाई विशेष बोलबम उत्सव एवं सामुहिक सन्ध्या आरतीको शुभारम्भ गर्न लागेको पूर्व सन्ध्यामा धर्मानुरागीहरुको सहभागितामा मन्दिर व्यवस्थापन समितिले आइतबार मोटर साइकल र्याली समेत गरेको थियो । र्यालीले साविक गैंडाकोट १–९ को परिक्रमा गरेको मन्दिरका सचिव भानु सापकोटाले जानकारी दिनुभयो । 

त्यस्तै मौलाकालिका मन्दिरमा समेत आजदेखी विशेष सन्ध्या आरती सञ्चालन गर्न लागिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । 

साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको कालिका मन्दिर कालिका आश्रमका अध्यक्ष पिताम्बर सापकोटाले जानकारी दिनुभयो ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर नदीको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ ।
साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।