गैँडाकोटमा द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न सूचना आह्वान 

२०८१ श्रावण १ मंगलबार १७:४८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको आवश्यकता पहिचान सुरु गर्ने गरी सूचना आह्वान गरेको छ । 

महिला, शान्ती र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयन गर्न नेपाल सरकारबाट स्वीकृत दोस्रो राष्ट्रिय कार्ययोजना (२०७९/०८०–२०८१/०८२) को दफा नं १२.५ ले तोके बमोजिम गैँडाकोट नगरपालिकामा राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समिति र उप–समिति गठन भइसकेका छन् । 

यसअघि गठित पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उप समिति संयोजकमा शान्ति कोइराला, सदस्य सचिवमा सीतादेवी लामिछाने पौडेल, सदस्यहरुमा तारा उपाध्याय, गोमा रेग्मी सुवेदी, लक्ष्मि बराल रहेका छन् । 

दिगो शान्ति तथा विकास प्रकृयामा लैङ्गीक समानता तथा समावेशी अवधारणालाई मूल प्रवाहीकरण गर्ने तथा द्वन्द्वको कारणबाट सिर्जित लैङ्गीक तथा यौनजन्य हिंसाबाट पिडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत आवश्यकतालाई सम्बोधन गर्न कार्ययोजना लागु गर्ने चरणमा रहेको छ । 

गैँडाकोट नगरपालिका भित्र स्थायी बसोबास गर्ने सशस्त्र द्वन्द्व तथा हिंसाबाट पिडित महिला र बालिकाले साउन ३० गते भित्र गैँडाकोट नगरपालिकामा निवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो । 

सशस्त्र द्वन्द्वबाट पिडित तथा प्रभावित महिला र बालिकाहरुबाट प्राप्त हुन आएका समष्टिगत आवश्यकता पहिचानमा उल्लेखित विवरण गोप्य राखिने उप समितिका संयोजक शान्ति कोइरालाले बताउनुभयो ।