पठन संस्कृति अभियानको चौँथो श्रृङ्खला 

२०८१ असार ३० आइतबार ०६:०६:०० मा प्रकाशित

गैँडाकोट । नवलपुरमा गत बैशाख १५ गतेबाट सुरु भएको पठन संस्कृति अभियानको चौँथो श्रृङ्खला सम्पन्न भएको छ । 

सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको आयोजनामा भएको पठन संस्कृति अभियानको चौँथो आजको श्रृङ्खलामा वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहाल मुख्य वक्ताको रुपमा उपस्थित हुनुभएको हो । 

नेपाली पत्रकारितामा पुरुषोत्तम दाहालको भूमिका महत्त्वपूर्ण रहेको छ । २०३५ सालबाट पत्रकारिता सुरु गर्नुभएका दाहालले छापा पत्रकारिता, टेलिभिजन, रेडियो, डिजिटल अनलाइनसम्म लेखन कार्य गर्दै आउनुभएको छ । मेरो पत्रकारिता, कालपात्र, कालो बादलमा उज्याला पाइला लगायतका दर्जन कृतिहरुको लेखन तथा प्रकाशन रहेका छन् ।  
करिब ४२ वर्षको पत्रकारिता जीवनमा उहाँले थुप्रै आरोह अवरोहसमेत पार गर्नुभएको छ । निष्पक्ष, निडर र स्वतन्त्र पत्रकारितामा विश्वास राख्ने उहाँले नागरिकका समस्या र सवालका विषयमा कलम चलाउने गर्नुहुन्छ । 

आजको पठन संस्कृति अभियानमा कवि गोविन्दराज विनोदीलाई सम्मान समेत गरिएको थियो । महाकवि देवकोटा पुरस्कार २०८० बाट सम्मानित हुनुभएको अवसरमा कवि विनोदीलाई पठन संस्कृति अभियानले पनि सम्मान गरेको विजय एफएमको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । साथै उहाँले यस कार्यक्रमलाई निरन्तरता दिने पनि बताउनुभएको छ । 

पठन संस्कृति अभियानको चौँथो श्रृङ्खला विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको हो । कार्यक्रममा करिब एक दर्जन पाठकले पुस्तकका विषयमा पाठकीय धारणा राख्नुभएको थियो ।