चितवनमा भानु जयन्ती मनाइयो 

२०८१ असार २९ शनिबार १३:५४:०० मा प्रकाशित

नारायणगढ । आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्तीको अवसरमा नारायणी कला मन्दिर र चितवन साहित्य परिषदको संयुक्त आयोजनामा “स्रष्टासम्मान तथा विविध कार्यक्रम“ नारायणी कला मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले भानुभक्तको योगदान नेपाली भाषा साहित्यमा अतुलनीय रहेको बताउनुभएको छ ।

कार्यक्रममा ३ जना स्रष्टाहरूलाई सम्मानित गरिएको थियोे । पुरस्कृत हुनेमा बामदेव–लक्ष्मी पुरस्कारबाट वरिष्ठ पत्रकार, स्रष्टा एवम् विश्लेषक पुरूषोत्तम दाहाललाई कालपात्र उपन्यास कृतिका लागि रू. ३५ हजार ४५ नगद राशि, दोसल्ला र प्रमाणपत्रका साथमा सम्मानित गरिएको थियोे । त्यसैगरी रू. १५ हजार ५५ नगद राशि, दोसल्ला र प्रमाणपत्रका साथमा चिसाप प्रतिभा पुरस्कार साहित्यकार धनराज गिरी र उनको पछिल्लो कृति पाखण्ड पुराणलाई र आकास ओडेको डोल्पो कृतिका लागि स्रष्टा भवानी खतिवडालाई ५० हजार ५५ नगद राशिसहित दोसल्ला र प्रमाणपत्रले खेमलाल साहित्य पुरस्कारले सम्मानित गरिएको छ ।

चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले स्वागत मन्तव्य राख्दै भानुभक्तको चर्चा गर्नुभएको थियो । थुप्रै साहित्यकारहरूले रचना पाठ गर्नुभएको सो कार्यक्रममा सपना रैला अर्यालको सुमधुर आवाजमा भानुभक्तको रामायण पाठ गर्नुभएको थियो ।

चितवन साहित्य परिषदका सचिव शान्ति शर्माको सहजीकरण रहेको सो कार्यक्रमको संयोजक सरला जोशी रहनुभएको थियोे । कार्यक्रमको समापन नारायणी कला मन्दिरका अध्यक्ष अनुकूल श्रेष्ठले गर्नुभएको हो ।