मुकुन्दसेन सामुदायिक वनमा नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न 

२०८१ असार २५ मंगलबार १९:२४:०० मा प्रकाशित

गैँडाकोट । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट १० को आयोजनामा भएको ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिमको समापन गरिएको छ ।   

मुकुन्दसेन सामुदायिक वनको सभाहलमा भएको तालिमको समापन सत्रमा बोल्दै गैँडाकोट १० का वडा अध्यक्ष देविदत्त कँडेलले तालिमले महिलाको क्षमता विकास भएको महशुस गरेको बताउनुभयो । सिकेका कुरा व्यवहारत कार्यान्वयनमा ल्याउन आग्रह गर्दै वनले सञ्चालन गरेका कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो । 

सब डिभिजन वन कार्यालयका फरेस्टर दिनेश केसीले सामुदायिक वनको आम्दानीबाट महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा वनले यसलाई निरन्तरा दिएकोमा आभार व्यक्त गर्दै महिलाहरुको क्षमता विकास गरी समुदायका अन्य क्षेत्रमा पनि महिला सहभागिता बढाउन आग्रह गर्नुभयो ।   

मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष चन्द्रदत्त जैशीले समुदायका हरेक क्षेत्र र संघ संस्थामा महिलाले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । 

मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी गैरे सुवेदीले जीवनमा सफलता पाउन उत्कृष्ट वाक कला जरुरी रहेको बताउँदै वन समूहका कार्यक्षेत्रका महिला समूहका दिदिबहिनीहरुलाई तालिम प्रदान गरिएको बताउनुभयो ।  उहाँले २७ गते बिहान ८ बजे वृक्षरोपण गर्न लागिएको जानकारी दिनुभयो । 

तालिममा सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्याय र सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।    

तालिमका सहभागीले तालिम फलदायी रहेको बताएका थिए । 

कार्यक्रममा मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष चर्तुमान प्रधान लगायत वनका पदाधिकारी सदस्यहरुको उपस्थिती रहेको थियो । 

तालिमको समापन समारोह समूहका सचिव सरला गैरेले सहजिकरण गर्नुभएको थियो ।