नारायणी माध्यमिक विद्यालयमा यातायातको साधन समुद्घाटन तथा विद्यालय सुधार योजना सम्बन्धि कार्यशाला सम्पन्न

२०८१ असार १ शनिबार १८:२९:०० मा प्रकाशित

गैंडाकोट । नारायणी माध्यमिक विद्यालय गैंडाकोट नगरपालिका वडा नं ७ ले खरिद गरेको विद्यालय बसको समुद्घाटन एवं विद्यालय सुधार योजनाको दोस्रो वर्षको अद्यावधिक सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा  गैँडाकोट नगरपालिका विधायन समिति संयोजक ज्ञानप्रसाद खनाल, वडा नं ७ का निवर्तमान वडा अध्यक्ष चोलानाथ उपाध्याय र नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले संयुक्त रुपमा बसको समुद्घाटन गर्नुभएको थियो । उक्त विद्यालयको बस गैँडाकोट नगरपालिका वडा नं ९ को कार्यालय र नारायणी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक सहयोगमा खरिद गरिएको हो ।

विद्यालयको पञ्च बर्षिय विद्यालय सुधार योजनाको दोस्रो वर्षको योजनाको अद्यावधिक गर्ने कार्य शनिवारनै सम्पन्न भएको छ । कार्यशालामा गत बर्षका योजनाको समिक्षा र चालु शैक्षिक सत्र २०८१ का लागि शैक्षिक तथा भौतिक सुधार सम्बन्धि योजनालाई अद्याबधिक गर्नका लागि छलफल गरिएको थियो । उक्त कार्यशालाले विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठको संयोजकत्वमा विद्यालय सुधार योजना निर्माण कार्यदल गठन गरेको छ । कार्यदलमा विद्यालय व्यवस्थापन समितिबाट पार्वती सापकोटा ,शिक्षक अभिभावक संघबाट अध्यक्ष हरिप्रसाद सापकोटा, शैक्षिक व्यक्तित्वबाट पूर्व प्रधानाध्यापक नारायण पौडेल, समाजसेवीका तर्फबाट छविलाल सापकोटा र शिक्षकबाट जगन्नाथ उपाध्याय र नारायणी बाल क्लबबाट दिक्षा माप्छन्  सदस्यमा रहनुभएको छ । उक्त कार्यशालामा गैंडाकोट वडा नं ७ र ९ का जनप्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका प्रतिनिधी, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधी, अभिभावकहरु, पूर्व प्रधानाध्यापक, शिक्षक, बाल क्लव, इको क्लब र जुनियर रेडक्रसका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यशालामा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं निवर्तमान वडा अध्यक्ष चोलानाथ उपाध्याय, गैँडाकोट ९ का निवर्तमान वडा अध्यक्ष, प्रेमप्रसाद सापकोटा, पूर्व अध्यक्ष विरभद्र सापकोटा, पूर्व प्रधानाध्यापक नारायण पौडेल, समाजसेवी लक्ष्मीप्रसाद चौधरी र विद्यार्थी दिक्षा माप्छन् ले शुभकामना तथा सुझाब प्रस्तुत गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यशालाको सहजीकरण सहायक प्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।