नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन मजदुरको सामूहिक अन्त्यष्टि
2024-06-15-05-11-59.jpeg)
नवलपुर । नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन जना मजदुरको शनिबार सामूहिक रुपमा अन्त्यष्टि गरिएको छ ।
कावासोती ३ को चिहानडाँडामा बौद्ध धर्म संस्कार अनुसार उनीहरुको अन्त्यष्टि गरिएको नेपाल मगर संघ कावासोतीका अध्यक्ष सुनमाया थापा मगरले जानकारी दिनुभयो ।
कावासोती–२ फलफूल चोकमा नाला खन्ने क्रममा एक्कासी खसेको माटोले पुरिएर बिहीबार साँझ कावासोती ५ निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो ।
शुक्रबार पीडित पक्ष र कावासोती नगरपालिकाका जनप्रतिनिधिबिच १० बुँदे सहमतिपछि उनीहरुको अन्त्यष्टि गरिएको मृतकका आफन्त एवम् स्थानीय बासिन्दा भेषराज गाहाले बताउनुभयो ।
मृतकहरुको शनिबार मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
नाला खन्ने क्रममा ३ जना मजदुरको ज्यान गएपछि नगरपालिका, प्राविधिक, उपभोक्ता समिति र ठेकेदारको लापरवाहीका कारण घटेको भन्दै पीडित पक्षले शुक्रबार दिनभर कावासोतीमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा तोडफोड र पटक पटक झडप भए पछि शनिबार पनि कावासोती नगरपालिका र नगर प्रमुख विष्णु प्रसाद भुसालको घर अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ ।