बीमा दर्ता सहयोगी आन्दोलित

२०८१ जेठ २८ सोमबार १८:४६:०० मा प्रकाशित

नवलपुर । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको कार्यक्रम यतिबेला देशैभर स्वास्थ्य बीमा बोर्डमार्फत सञ्चालन हुँदै आएको छ ।

कार्यक्रमलाई सञ्चालन गर्न मुख्य भूमिकामा रहेका बीमा दर्ता सहयोगी यतिबेला देशभर नै आफ्ना विभिन्न माग राख्दै आन्दोलित भएका छन् ।

दर्ता सहयोगीले पाउँदै गरेको १०% प्रोत्साहन रकमबाट बढाईं २०% बनाउने, प्रोत्साहन रकममा १५% कर लगाई दर्ता सहयोगीको मनोबल गिराई निरुत्साहित बनाउने काम भएकोले १५% करलाई हटाई १% बनाउने, दर्ता सहयोगीलाई पोशाकको व्यवस्था गरिनुपर्ने, शैक्षिक योग्यता पुगेका र लामो समयसम्म कार्य अनुभव भएका दर्ता सहयोगीबीच प्रकिया अनुसार दर्ता अधिकारीमा नियुक्ति गराउने, दर्ता सहयोगीले पाउने प्रोत्साहन रकम समयमै पाउनुपर्नेलगायत माग राख्दै नवलपुरका दर्ता सहयोगीले स्वास्थ्य बीमा दर्ता सहयोगी संघर्ष समितिमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

 ज्ञापनपत्रका मागहरु सम्बोधन नभएमा वा बेवास्ता गरिएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघर्षका कार्यक्रम घोषणा गर्ने समिति संयोजक होमनाथ पौडेलले बताए । जिल्लाभर रहेका ९२ वडाका दर्ता सहयोगीको प्रतिनिधि मुलक सहभागितामा ज्ञापनपत्र नवपुरका स्वास्थ्य बीमा प्रमुख ध्रुव बोगटीमार्फत बोर्डका कार्यकारी निर्देशक र बोर्ड अध्यक्षलाई पठाएका छन् ।