विद्यार्थीले भने “छिटो बाटो बनाइदिनुहोस्”

२०८१ जेठ २८ सोमबार १७:२४:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोट २ शिलन्यास चोकदेखि नागरिक कलेजसम्मको बाटो निर्माण हुँदैछ । निर्माण कार्यले तिव्रता नपाउँदा आवतजावतमा समस्या भएको स्थानीयको गुनासो छ । स्थानीय भन्छन् “बाटो निर्माण हुनु राम्रो काम हो, तर तीव्र गतिमा बाटो बन्नु आवश्यक छ ।” बाटोमा असिन पसिन हुँदै हिँड्दै गरेका विद्यार्थीहरुले छिटो बाटो बनाउन सरोकारवालालाई आग्रह गरेका छन् ।  एक हप्तादेखि यो बाटो निर्माणको कामले तीव्रता नपाएको भन्दै विद्यार्थीले गुनासो गरेका छन् । 


ग्रेबल थुपारेको केही दिन हुँदा सम्म ग्रेबल सम्याउने काम नहुँदा आवतजावतमा थप समस्या भएको उनीहरुको भनाइ छ । यस सडक क्षेत्रमा दुई वटा विद्यालय सञ्चालनमा रहेको छ । विद्यालय सञ्चालकहरुले विद्यार्थीलाई समेत आवत जावतमा समस्या भएको बताएका छन् । 


गैँडाकोट ईंग्लिस स्कूलका प्रिन्सिपल हिरालाल अर्यालले विद्यालय क्षेत्रको सडक निर्माणलाई निर्माण कम्पनीले चासोका साथ तीव्र गतिमा काम अघि बढाउन सुझाब दिनुभयो । 


सोही सडक क्षेत्रमा रहेको अर्को विद्यालय अक्सफोर्ड सेकेण्डरी स्कुलका प्रशासन तथा लेखा प्रमुख नारायण सिग्देलले विद्यालय क्षेत्रको सडकलाई संवेदनशील ठानेर काम अघि बढाउन आग्रह गर्नुभयो । 


यता गैँडाकोट नगरपालिका वाड नं. २ का वडा अध्यक्ष प्रकाश सापकोटाले भन्नुभयो “सडक निर्माणको काम जारी छ, छिट्टै सडक निर्माणले पूर्णता पाउनेछ, प्रदेशको बजेटबाट निर्माण हुन लागेको हो, ठेगेदार कम्पनीसँग कुरा भएको छ । असार मसान्तभित्र सक्नुपर्ने बाटो हो, अब छिटै बन्छ ।” वडा अध्यक्ष सापकोटाले केही समय स्थानीयले धैर्य गर्न आग्रह गर्दै अन्य बैकल्पिक बाटोबाट आवतजावत गर्न सुझाब दिनुभएको छ । 


ग्राबेल सम्याएर आवातजावतमा सहज बनाइदिए दैनिक जीवन सहज हुने स्थानीयको आग्रह रहेको छ ।