गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संशयबीच आज विश्वासको मत लिँदै 

२०८१ जेठ २८ सोमबार ०६:१२:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसका लागि ३ बजे बैठक डाकिएको छ ।

दलहरूसँगको छलफलपछि नै उहाँले संसद फेस गर्न लागेको बुझिएको छ । तर औपचारिकरुपमा उहाँलाई मत दिने निर्णय कसैले गरेका छैनन् ।

२ सिट रहेको राप्रपा अहिलेसम्म औपचारिक निर्णयमा पुगेको छैन । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्णय गर्ने अधिकार दिइएको छ । दलका नेता पञ्चराम गुरुङले निर्णय नभएकाले अन्योलमा रहेको बताउनुभयो । संघमा बनेको गठबन्धनलाई राप्रपाले समर्थन नगर्ने र सरकारमा पनि नजाने निर्णय गरिसकेको छ । तर उक्त गठबन्धन बाहिरको सरकारलाई साथ दिने विषयमा पनि राप्रपा अनिर्णीत छ । प्रवक्ता मोहनकुमार श्रेष्ठले ३१ मत पुग्ने अवस्थामा राप्रपाले साथ दिने बताउँछन् । राप्रपाले समर्थन नगरे विश्वासको मतको ‘च्याप्टर क्लोज’ हुन्छ ।

मुख्यमन्त्री पाण्डेको प्रयासलाई विफल पार्न विपक्षी दल एमाले र माओवादीले कसरत गरिरहेका छन्

राप्रपाले समर्थन गरे २९ सिट पुग्छ । त्यसो त स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई पनि फकाउने काम भइरहेको छ । उहाँहरूले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने वा नदिने टुंगो छैन । मनाङेले पनि ३१ सिट पुग्ने अवस्था आए आफूले समर्थन गर्ने बताउनुभयो । देवकोटाले फ्लोर क्रस गर्ने सम्भावना देखाइएको छ । तर उहाँ अहिले गठबन्धनसँग संवादमै रहेका कारण क्रस गर्ने सम्भावना नरहेको दाबी गरिएको छ । माओवादीको ह्विप लाग्ने भएकाले १६८ को (३) मा फ्लोर क्रस गर्न सजिलो छैन । २७ सिटसहित पहिलो पार्टी नेपाली कांग्रेसका दलका नेता पाण्डेलाई सर्वोच्च अदालतको परमादेशअनुसार धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । 

पाण्डेले विश्वासको मत पाउने पक्का भए विपक्षी गठबन्धनले संसद् बहिष्कार गर्नेसम्मको आन्तरिक तयारी भइरहेको स्रोतको दाबी छ । सभामुख र उपसभामुखले राजीनामा दिएर एमाले र माओवादी दुवै पार्टी संसदमा उपस्थित नहुने अन्तिम विकल्पका रूपमा छलफल चलिरहेको स्रोत बताउँछ ।