किताबको अस्तित्व समाप्त भएको छैन : डा. अभि सुवेदी

पठन संस्कृति अभियानको तेस्रो शृङ्खला

२०८१ जेठ २६ शनिबार १७:३१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा निरन्तर चलिरहेको पठन संस्कृति अभियानको तेस्रो शृङ्खला सम्पन्न भएको छ । 

विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि कवि, निबन्धकार, नाटककार, अनुवादक तथा समालोचक, प्राध्यापक डा. अभि सुवेदीले नेपालमा किताबको पठन संस्कृति छ भन्ने यो अभियानले प्रष्ट पारेको बताउनुभयो । उहाँले किताबको शक्ति नसकिएको तर्क गर्दै कर्म गर्ने गैँडाकोटबासीको अभियानले खुसीको आश्चर्य बनाएको बताउनुभयो । 

अन्यत्र यस्तो अभियानबारे थाहा नभएको उल्लेख गर्दै यस्ता अभियान सञ्चालन होस् भन्ने कामना गर्नुभयो । पुस्तक धरापमा परेको हो त ? भन्ने प्रसंग जोड्दै उहाँले प्रकाशकले यस्तो अवस्थामा पनि पुस्तक निरन्तर प्रकाशन गर्नु र गैँडाकोटमा पठन संस्कृति अभियान सञ्चालन गर्नु राम्रो रहेको बताउनुभयो ।

डा. सुवेदीले लेखक निरन्तर छ की पाठक निरन्तर छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लेखकले मैले लेखेको छु पाठकले पढ्नुपर्छ भन्ने मान्यता राख्छन्, तर त्यो लेखकको निरङ्कुशता हो ।” पाठकलाई समावेश गरी लेखिएका किताब सफल हुने र पाठकलाई नहोच्याइकन लेख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली र अंग्रेजी साहित्यका अथक साधक, अध्येता र उत्प्रेरक व्यक्तित्व प्राध्यापक डा. सुवेदीले इन्टरनेटपछि किताब पुस्तकालयको अवस्था खस्केको नभइ इन्टरनेटले सहज भएको तर किताबको अस्तित्व समाप्त नभएको तर्क गर्नुभयो । 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले गैँडाकोटमा ठूलो पुस्तकालय बनाउन सकिने बताउँदै त्यसका लागि पठन सीप विकास गराउन तल्लिन रहेको बताउनुभयो । 

हरेक महिनाको अन्तिम शनिबार अभियान अन्तर्गत कार्यक्रम हुँदै आएकोमा उहाँले आउँदो असार महिनाको अन्तिम शनिबार २९ गते भानु जयन्ती विशेष कार्यक्रम हुने बताउनुभयो । 

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा तिलक पन्थी, संसार सापकोटा, जस्मिन खनाल, शंकर आचार्य, विष्णुमाया पन्थी, उदय अधिकारी, बेलबहादुर दरै, पवित्रा पराजुली, सरस्वती तिमिल्सिना, केशवप्रसाद सापकोटाले विभिन्न पुस्तकमाथी चर्चा गर्नुभएको थियो । 

प्रत्येक महिनाको अन्तिम शनिबार कार्यक्रमबाट अध्ययनका लागि लगेका र आफूले पढेका पुस्तकमाथि थप चर्चा हुनेछ ।