सहमतिको अगुवाईमा हुप्सेकोटमा डाले घाँस रोपण 

२०८१ जेठ २३ बुधबार १७:३०:०० मा प्रकाशित

हुप्सेकोट । सहमति संस्थाको अगुवाईमा विश्व वातावरण दिवशको अवसर पारेर हुप्सेकोटमा वृक्षरोपण गरिएको छ । 

संस्थाले हुप्सेकोट ५ स्थित दैत्यगैरा कबुलियती वनमा वृक्षरोपण गरेको हो । बुधबार मात्रै डाले घाँस बडहरका २ सय बढी बिरुवा रोपिएको सहमतिका कृषि प्राविधिक एवं सामुदायिक सहजकर्ता क्षितिजराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ अन्य प्रजातीका समेत गरी १५ सय बिरुवा रोपिने छ । वनका पदाधिकारी, सदस्य एवं उपभोक्ताको सक्रियतामा नै पहाडी क्षेत्रमा वृक्षरोपण गरिएको हो । 

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले घरको वरपर वृक्षरोपण गरी हरियाली कायम राख्न आग्रह गर्दै यसले केही हदसम्म भएपनि जलवायु परिवर्तनको असर कम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सहमतिका सञ्चालक सदस्य दयासागर सुवेदीले समुदायका व्यक्ति नै संरक्षण कार्यमा अघि बढेको पाउँदा खुसी व्यक्त गर्नुभयो । 

दैत्यगैरा कबुलियती वनका अध्यक्ष यामबहादुर बारघरेले डाँले घास बडहर रोपण कार्यले बाख्रापालन गरी आयआर्जन बढाउन सकिने बताउनुभयो । 

सहमति संस्थाको प्रयासमा यहाँ संरक्षण र भू–क्षय नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपुरको गुन्द्रही जलाधार क्षेत्रको हुप्सेकोट ५ पाङ्ग्रेमा खानेपानीको मूहान संरक्षण तथा हुप्सेकोट ४ को शङ्खदेव हसौरा सामुदायिक वन र जोल्टेपोखरी सामुदायिक वनमा सिमसार एवं पानी पोखरी निर्माण कार्य सम्पन्न गरेको छ ।