“समय, शिक्षा र संस्कार नदिनु भ्रष्टाचार हो”

२०८१ जेठ २१ सोमबार १७:५२:०० मा प्रकाशित



गैँडाकोट । आर्थिक अनियमितता भ्रष्टाचार हो । यो वाक्यांश हामीले सुन्दै आएका छौँ ।

सोमबार नारायणी रिसोर्टको हलमा भरिभराउ अभिभावकले अर्को परिभाषा पनि सिक्ने मौका पाए । उनीहरूले थाहा पाए “समय, शिक्षा र संस्कार नदिनु पनि भ्रष्टाचार हो ।” प्रेरक व्यक्तित्व डा. ताराजीका कुरा सुन्दै गर्दा अभिभावक पररर ताली बजाइरहन्थे ।

गैँडाकोट ईङ्लीस स्कुलका ४ सय बढी अभिभावकले  डा. ताराजीको बालस्वभाव शैलीको प्रस्तुतीलाई नजिकबाट नियाले र मनन गर्ने वाचा पनि गरे । 

आफ्नो नानी बाबु अब्बल बनाउन अभिभावकको समय, शिक्षा र संस्कारले मात्र सकरात्मक परिवर्तन आउने डा. ताराजीको भनाइ थियो । हरेक दिन ३० मिनेट आफ्ना नानीबाबुसँग संवाद गर्न आग्रह गरे । बाबुआमा र छोराछोरीबीचको संवाद हिनताले दुर्घटना निम्त्याउन सक्ने भन्दै सन्तानसँगको सामिप्यता बढाउन ताराजीको आग्रह थियो ।

साना उमेरका नानीबाबुलाई अभिभावकको स्पर्शको आवश्यकता रहेको बताउँदै डा. ताराजीले भन्नुभयो “विहान सबेरै उठाउँदा होस या, नुहाएर तावेलले शरिर पुछ्दै गर्दा होस्, या आउ सँगै बसेर गृहकार्य गरौँ भन्दै गर्दा होस्, अथवा विद्यालय जानुपूर्व अंकमाल गर्दै गर्दा होस्, वा विद्यालयबाट फर्केपछि कत्ति कुरा जानेर आयौ भनेर अङ्कमाल गर्दा होस्, एक दिनमा कम्तिमा पनि ८ पटक नानीबाबुसँगको सामिप्यता हुन जरुरी छ । यसले नानीबाबु अभिभावकसँग घुलमिल हुने, मनको कुरा खोल्ने, समस्या बताउने गर्छन् र हल गर्न सहज हुन्छ ।”


आफ्ना नानीबाबुलाई गाली, थर्काइले नभएर उत्साहप्रद भनाइबाट कुनै पनि कर्तव्यको जिम्मेवारी बोध गराउन आवश्यक रहेको डा. ताराजीले बताउनुभयो । डा. ताराजीले असल अभिभावकले गर्नुपर्ने व्यवहारका बारेमा प्रष्ट पार्नुभएको थियो । असल अभिभावक बन्न उदाहरण दिदै डा. ताराजीले भन्नुभयो “आफ्ना नानीबाबुलाई गल्ती गरेको खण्डमा “घर फर्केर नआउनु” भन्ने होइन, त्यसको ठाउँमा “गल्ती भए सबैभन्दा पहिला मलाई भन्नु है, म सहयोग गर्नेछु” भन्ने हो । यसले घटना घट्नबाट जोगाउन मद्दत मिल्ने छ ।”


यसका साथै गल्तीबाट नै बालबालिकाको सिकाइ हुने र नानीबाबुलाई जिम्मेवारी दिदा मात्र काममा अभ्यस्त बनाउन सकिने डा. ताराजीको भनाइ थियो । श्रीमान श्रीमतीबीचको झगडाको कारण साना नानीबाबुको मनोविज्ञानमा धेरै असर पुग्ने हुँदा बच्चाको अघि लुकाउनु पर्ने गतिविधि लुकाउन अभिभावकलाई ताराजीको आग्रह थियो ।  


बेइमान बन्न प्रेरित हुने वाक्यांशको प्रयोग बोलीचालीमा नै नल्याउन आग्रह गर्दै उहाँले आफ्ना नानीबाबुलाई सद्गुणको सम्मान गर्न सिकाउन आग्रह गर्नुभयो । विद्यार्थीको अघि शिक्षकको टिप्पणी गर्न नहुने, विद्यालयको टिप्पणी, देशको नकरात्मक टिप्पणी गर्न नहुने र मोबाइलको कम प्रयोग गर्न अभिभावकले नै सम्झाइ बुझाइ गर्न आवश्यक भएको प्रेरक व्यक्तित्व ताराजीको सुझाब थियो ।

साना नानीबाबु जुन संस्कारमा हुर्किए उनीहरुको व्यक्तित्व उस्तै निर्माण हुने हुँदा संस्कारको विकासमा जोड दिन उहाँको आग्रह थियो । अभिभावकका अघि डा. ताराजीले भन्नुभयो “बुढेसकालमा पाल्ने छोराछोरीले होइन, छोराछोरीलाई सिकाएको संस्कारले हो ।” ताराजीको कुरा सुनेपछि अभिभावकको मनमा गढेर होला, परररर तालि बजेको थियो । 


अभिभावक अभिमुखीकरण कार्यक्रम अघि डा. ताराजीले विद्यार्थीहरूलाई पनि प्रेरक कुरा सुनाउनुभएको थियो । अभिभावक र शिक्षकको चक्का एकसाथ गुड्यो भने मात्र विद्यार्थीरुपी रथ कुदाउन सहज हुने विद्यालयका सहायक प्रिन्सिपल नवराज कंडेलले बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल हिरालाल अर्यालले भन्नुभयो “विद्यालयले हरेक कार्यक्रम समयमा नै सुरु गर्ने गरेको बताउँदै, समयको परिपालना विद्यार्थीलाई सिकाउन यो अभियान चालिएको हो । समयको पालना शिक्षकले गर्न नसके विद्यार्थीलाई सिकाउन असहज हुन्छ, यो अभियानलाई अभिभावकले पनि बुझिदिन आग्रह गर्दछु ।” विद्यालयले कक्षा ४ देखि माथिका कक्षाका अभिभावकका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।