अषाढ १ गतेबाट जनकले के गर्दै छ ?

२०८१ जेठ २० आइतबार १३:३८:०० मा प्रकाशित


गैँडाकोट । सरस्वती आधारभूत विद्यालय गैँडाकोट ५, आफ्नै वडामा रहेको जनक नमुना माध्यमिक विद्यालयमा समायोजन हुँदैछ । समायोजनका लागि दुबै विद्यालयले निर्णय गरिसकेका छन् । जेठ ४ गते सरस्वती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द उपाध्यायको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले विद्यालयलाई जनक नमुना माध्यामिक विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो । सोही भेलाले खडानन्द उपाध्यायको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । जेठ १२ गते सरस्वती र जनक नमुना माध्यमिक विद्यालय दुबै तर्फको संयुक्त बैठकले विद्यालय समायोजनको निर्णय गरेको हो । हाल भइरहेको सरस्वती आधारभूत विद्यालयको भवनमा पूर्व प्राथमिक तह सञ्चालन यथावत रहनेगरी समायोजन प्रक्रिया अघि बढेको छ । जेठ १३ गते जनक नमुना माध्यमिक विद्यालयले शिक्षा युवा तथा खेलकुद शाखा गैँडाकोट नगरपालिकामा आवश्यक स्वीकृति तथा सहयोगका लागि निवेदन दिइएको विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले बताउनुभयो । नगर शिक्षा समितिको निर्णयसँगै विद्यालयको समायोजन हुनेछ ।

 
सरस्वती आधारभूत विद्यालयमा विद्यार्थीसँख्या न्यून हुँदै गएपछि स्थानीय व्यक्तिहरूकै अग्रसरतामा विद्यालय समायोजनको प्रक्रिया अघि बढेको हो । सरस्वती आ.वि.मा चालु शैक्षिक सत्रमा करिब ६० जना मात्रै विद्यार्थी रहेको पाइएको छ । यस विद्यालयमा ४ जना स्थायी, १ जना कर्मचारी, १ जना बालविकास शिक्षक, २ जना निजि तहबाट गरि ८ जना शिक्षक कर्मचारीहरु रहेका छन् । सबै शिक्षकहरुको जिम्मेवारी जनक नमुना माविले लिएको छ । जनक नमुना माध्यमिक विद्यालयले सरस्वती आ.विका विद्यार्थीहरूको पठनपाठन करिब २ सय मिटर उत्तर तर्फ रहेको जनक माविको पुरानो भवनमा गर्ने भएको छ ।

जनकको आधारभूत तह (कक्षा १–५) पढाइ हुँदै आएको गैँडाकोट ४ मा रहेको विद्यालयमा विद्यार्थीसङ्ख्या धेरै भएको हुँदा सो विद्यालयका केही विद्यार्थीहरू पनि पुरानो मावि भवनमा सारिने छ । पूर्वपश्चिम राजमार्ग निर्माणको क्रममा रहेको छ । सडक निर्माण पछि पनि विद्यार्थी वारपार गर्न कठिन हुनेछ । सडक वारपार गर्न विद्यार्थीलाई असहज भएकाले बाटोे मुनिका विद्यार्थीहरू जनकको पुरानो मावि भवनमा र बाटो माथिका विद्यार्थीहरू झपर्दीमा रहेको सोही विद्यालयमा पठनपाठनको व्यवस्था गरिने विद्यालयका प्रधानाध्यापक शर्माले विजय एफएमलाई बताउनुभयो । प्र.अ. शर्माका अनुसार यही असार १ गतेबाट नै जनकको पुरानो मावि भवनमा कक्षा १ देखि ५ कक्षासम्मको पठनपाठन सुरु हुनेछ । सरस्वती आधारभूत विद्यालयको भवनमा भने बाल विकास केन्द्र सञ्चालन हुने शर्माले बताउनुभयो ।  


जनक नमुना माध्यमिक विद्यालयले आधारभूत तहको शिक्षण प्रक्रिया सुधार, शिक्षण पद्धति परिवर्तन गर्दै सुधारको अभियानमा अघि बढेको विद्यालयका प्र.अ. चुडामणि शर्माले बताउनुभयो । विद्यालयले अब निरन्तर विद्यार्थी मूल्याङ्कन विधिलाई प्राथमिकतामा राख्दै शिक्षण प्रक्रिया अघि बढाउने योजना बनाएको छ । आफ्नो विद्यालयको शिक्षण पद्धति मात्र नभइ आफ्ना फिडर विद्यालयको समेत शिक्षण प्रक्रिया समयअनुकुल सुधार्न निरन्तर विद्यार्थी मूल्यांकन विधिका बारेमा तालिम समेत प्रदान गरेको विद्यालयका प्रअ कंडेलको भनाइ छ । 


विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नृत्यकक्षा, संगीत कक्षा, खेलकुद कक्षा, सिकाइलाई व्यवहारमा उतार्न विद्यालय परिसरमा फूल खेती, मकै खेती, मौरीपालन जस्ता उद्यमशील शिक्षा पनि सँगसँगै प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापक शर्माले बताउनुभयो । विद्यालयले विद्यार्थी र शिक्षक दुबैको सीप र अनुभव साटासाटका लागि बुटवल मणिग्रामको शान्ति नमुना माध्यमिक विद्यालय पुगेर पठनपाठन तथा अध्ययन गर्ने र त्यहाँको राम्रा असल अभ्यास जनक नमुना माविमा कार्यान्वयनमा ल्याउने गरी सम्झौता गरिएको पनि प्रधानाध्यापक शर्माले बताउनुभयो । शान्ति नमुना माध्यामिक विद्यालय नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित रहेको छ । जहाँ ५ हजार भन्दा बढी विद्यार्थी नियमित पठनपाठन गर्दछन् । २ हजार भन्दा बढी विद्यार्थी नियमित पठनपाठन गराउँदै आएको जनक नमुना माध्यमिक विद्यालयले नियमित अभिभावक शिक्षा, घरदैलो कार्यक्रम गरि अभिभावकसँग नजिक रहेर योजना निर्माण गर्ने गरेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।