चन्द्रलोक प्रतिष्ठानद्वारा गैँडाकोटका गायक दिपक खड्का सम्मानित

२०८१ जेठ १६ बुधबार ०६:३१:०० मा प्रकाशित

काठमाडौं - चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम काठमाडौंको कमलपोखरीमा रहेको रसियन हायसमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष समेत रहनुभएका गैँडाकोट ९ जैनटार निवासी गायक दिपक खड्कालाई ‘राष्ट्रिय सेवा सम्मान’द्वारा सम्मान गरिएको हो ।

साथै प्रतिष्ठानले विभिन्न संघ संस्था मार्फत समाजमा आम नागरिकको हितमा काम गर्दै आईरहेका व्यक्तित्वहरुलाई दोसल्ला, प्रमाणपत्रसहित सम्मान प्रदान गरेको थियो । कार्यक्रममा प्रतिष्ठानले नागरिकहरुलाई आर्थिक बचत गराउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, प्रविधि क्षेत्रको विकास र आईटी क्षेत्रमा गरेको उत्कृष्ठ कार्यको सम्मान गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) का महासचिव तथा आईटी प्रशिक्षक चिरन्जीबी अधिकारी, नेशनल हस्पीटालिटीका प्रबन्ध निर्देशक श्याम कृष्ण जोशी, भेनस क्याम्पसका प्रमुख कृष्ण गौतम लगायतका कलाकार, पत्रकार, प्रशिक्षक, शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान प्रदान गर्दै हौसला बढाएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सरोकारवालाको भुमिका’ विषयक अन्तरक्रिया साथै, विभिन्न व्यक्तित्वलाई सम्मान तथा जनचेतनामूलक लघुनाटक समावेशसहितका प्रस्तुतीले कार्यक्रमलाई झनै रोमान्चक बनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले संसद भवनमा भैरहेको गतिरोधलाई सक्दो चाँडो अन्त्य गर्नुपर्ने बताउनुभयो । साथै उहाँले समाजमा रहेको सबै प्रकारका विभेदहरुको निराकण गर्न सरकार, सम्पूर्ण राजनीतिक दल तथा आम नागरिकहरु मिलेर अगाडी बढ्न आवश्यक रहेको समेत बताउनुभयो ।

साथै, कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली कांगे्रसका नेता डा.मिनेन्द्र प्रसाद रिजालले पछिल्लो समय दैनिक रुपमा हजारौ विद्यार्थीहरु उच्च शिक्षाको नाममा देश छोडिरहेको कुराप्रति दुःख व्यक्त गर्दै सरकार र सम्बन्धित निकायले यस परिपाटीको अन्त्य गर्नुपर्ने बताउनुभयो

कार्यक्रममको सभापतित्व चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले गर्नुभएको थियो ।