गैँडाकोट थुम्सीमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

२०८१ जेठ १५ मंगलबार १३:२६:०० मा प्रकाशित

गैँडाकोट । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट ९ थुम्सीमा सडक भासिँदा अवरुद्ध राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएको छ । 

सडक भासिएको ठाउँमा ढुङ्गा माटो भरेपछि अहिले एकतर्फी सञ्चालनमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक दामोदर मल्लले जानकारी दिनुभयो । मध्यान्ह १२ बजेपछि क्रमैसँग साना ठूला गाडी पास भएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवैतर्फी यातायात सञ्चालन हुन करिब ३ देखी ४ घण्टा लाग्न सक्छ । दुवैतर्फी सडक खुलाउने प्रयास पनि जारी रहेकोले साँझ ६ बज्न सक्ने अनुमान छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारण राति १२ बजेदेखी गैँडाकोट–९ थुम्सीको जङ्गलमा निर्माणाधिन पुलसँगै सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो । खोलाले पुलसँगैको माटा बगाएपछि सडक अवरुद्ध बन्न पुगेको थियो । 

सडक अवरुद्ध हुँदा रातको समयदेखी लामो दुरीका यात्रुहरु अलपत्र परेका थिए ।