जनमुखी नीति तथा कार्यक्रम ल्याउन गैँडाकोटमा छलफललाई तिव्रता

२०८१ जेठ १५ मंगलबार १२:०१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटका सम्बन्धमा विभिन्न सरोकारवालाहरूसँगको छलफललाई तिव्रता दिएको छ । 

आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम तथा योजनाहरु स्थानीय समुदायकै आवश्यकता र चाहना अनुरुप सञ्चालन गर्न छलफललाई तिव्रता दिइएको हो । हालसम्म उद्योगी व्यवसायी, यातायात व्यवसायी, प्राज्ञिक तथा बौद्धिक वर्ग एवं शैक्षिक संघ संस्था, कृषिका सम्बन्धमा किसान प्रतिनिधि, आदीबासी जनजाती तथा पिछडिएका समुदायसँग छलफल गरिसकिएको गैँडाकोट नगरपालिकाका राजस्व शाखा प्रमुख लक्ष्मीधर पौडेलले जानकारी दिनुभयो । उहाँले राजस्व परामर्श समिति, सुशासन समिति, न्यायिक समिति, लेखा समिति, आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समितिले सक्रियताका छलफल चलाइरहेको बताउनुभयो । 

असार १० गते अगावै नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्ने प्रावधान अनुरुप सो अघि नै तयारी गरिरहेको छ । नगरपालिकाले असार ५ गते नीति तथा कार्यक्रम र ७ गते बजेट ल्याउने तयारी गरिरहेको छ । 

छलफलमा सहभागीहरुले जनमुखि नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका थिए । पहिले भन्दा चालु खर्च घट्ने आङ्कलन गरिएको नगरपालिकाले जनाएको छ । 
गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले विगतमा भएका नीति तथा कार्यक्रम समयानुकुल परिमार्जन गर्न तथा आगामी दिनमा अवलम्बन गर्नुपर्ने विषय समावेशका लागि छलफल गरिएको बताउनुभयो ।  

गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले जनताको अपेक्षा अनुसारकौ नीति तथा कार्यक्रम सञ्चालन गर्न उनीहरुको आवश्यकताबारे छलफल आगामी दिनमा कसरी सहकार्य गर्ने भन्ने उद्देश्यले छलफल गरिएको बताउनुभयो । सरोकारवालाहरुसँग फरक-फरक समयमा १७ गतेसम्म छलफलका कार्यक्रम तय गरिएका छन् ।