‘बुद्धकालीन समाज’ कृति पठनसँगै वर्तमान समाज नियाल्दा

२०८१ जेठ ९ बुधबार १७:२१:०० मा प्रकाशित

ऐतिहासिक, सांस्कृतिक, सामाजिक, धार्मिक, पुरातात्त्विक तथा भाषिक दृष्टिकोणले उपयोगी उमाकान्त पौडेलद्वारा लिखित अनुसन्धानमूलक कृति ‘बुद्धकालीन समाज’ (पालि त्रिपिटकको साक्ष्यमा) मेरो हातमा प¥यो । स्थानीय तथा राष्ट्रिय खबरहरुको सङ्गालो मात्र नभएर सामाजिक सेवाभावसहित समाज रूपान्तर गर्न अहम् भूमिका निर्वाह गर्दै आएको विजय एफएम र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीको आयोजनामा २०८१÷१÷१५ देखि शुभारम्भ गरिएको ‘पठन संस्कृति अभियान’ द्वारा पाठकहरूलाई दिइएका २० वटा कृति मध्ये उक्त कृति मेरो भागमा आएको थियो । यसको उद्देश्य वर्तमान समयमा पुस्तक पढ्ने परम्परा निरूत्साहित हँुदै गइरहेको अवस्थालाई मध्यनजर पठन संस्कृतितिर आकर्षित गरी पुस्तक पढेर आफूलाई लागेको विचार आफैले प्रस्तुत गर्ने  थलो बनेको छ ।

पालि त्रिपिटकको साक्ष्यका रुपमा रहेर इतिहासमा आधारित अनुसन्धानमूलक लेख रहेको उक्त कृति ३०१ पृष्ठ, दश अध्याय, ४ परिशिष्ट दुई पृष्ठ विनीतसहित, संक्षेपीकृत शब्दसूची रहेको ‘बुद्धकालीन समाज’ वैशाख २०८० मा प्रकाशित भएको हो । 

आदिमकालमा मानिसले आ–आफ्नो समूह बनाइ निश्चित भूभाग ओगटेर कृषिकर्म गर्न थाले । काम गर्न अल्छी गर्नेले चोरी डकैँती, लुटपाट गरेर खान थालेपछि समाजको हट्टाकट्टा बुद्धिमान्, खाइलाग्दो जीउडाल भएको, बलवान् व्यक्तिलाई त्यो समूहमा देखिएका सबैखाले बेथिति नियन्त्रण गर्ने जिम्मा दिने अनि समुदायले आफ्नो उब्जनीको निश्चित अंश उसलाई दिने कबोल गर्थे । समुदायबाट चुनिएको उक्त व्यक्तिलाई ‘महासम्मत’ भन्न थालियो । आफ्नो क्षेत्र भरिको रक्षक हुँदा उसलाई ‘क्षत्रिय’ भनिन्थ्यो । समयक्रममा उनै व्यक्तिहरु अधिकार प्राप्त हुँदै जाँदा राजा र राज्यसत्ता स्थापित गरे । त्यही क्रममा कालान्तरसम्म आइपुग्दा नेपाललगायत भारतका सीमावर्ती क्षेत्रतिर स–साना राजतन्त्रात्मक र गणतन्त्रात्मक राज्यहरु बनेका रैछन् ।

आजभन्दा करिब २५०० वर्ष अगाडि कपिलवस्तुका राजा शुद्धोदन र रानी माया देवीको कोखबाट इ.पू ५६३ को वैशाख पूर्णिमाका दिन मायादेवी माइत जाँदा लुम्बिनीको वनमा सिद्धार्थ  गौतमको जन्म भएको थियो । उनी जन्मिएको दिन राज्यमा महाकम्पन हुनुका साथै वीणा, दमाहा, बाजा आफै बजेर संगीत भरेका थिए भने लाटा बोल्ने, लुला लङ्गडा हिंड्ने, बहिरा सुन्ने, अन्धाले देख्ने जस्ता चमत्कार भएको थियो भन्ने प्रसङ्ग त्रिपिटकको अठ्ठकथामा अपत्यारिलो किम्बदन्ती प्रस्तुत गरिएको छ । उनी जन्मिएको सातौँ दिनमा माता मायादेवीको मृत्यु भएको थियो । जन्मिदा नै बुद्धत्व प्राप्त गरेको कुरा घोषणा गरी सबै काम सिद्ध गर्ने युगपुरुष भएकाले उनको नाम सिद्धार्थ गौतम रहेको कुरा उल्लेख गरिएको छ ।

अध्ययनशील लगनशील तृष्णबुद्धि, सबै ग्रन्थ पढेका बुद्ध देश, काल, जाति र सम्प्रदायको घेराभन्दा माथि उठेर काम गरेका थिए । त्यसैले विभिन्न राज्यमा देखिएका पदलोलुपा, लाचारी, भ्रष्टाचारी, विकृति विसङ्गतिप्रति बुद्धको वितृष्णा थियो । तिनै सबैको प्रतिफल रोगी  वृद्ध, मृतक, सन्यासी आदि हुन भन्दै त्यसको निष्कर्ष निकाल्ने उद्देश्यसाथ २९ वर्षको कलिलो उमेरमा परिवार तथा राज्य मोह त्यागेर उनी सन्यासी वरण गरेका थिए भनिएको छ । मातापिता र पत्नीको इच्छाविपरित दाह्रीकपाल मुण्डन गरेर गेरू वस्त्र धारण गरी सन्यासी वरण गर्नुको ध्येय बुद्धत्व प्राप्त गरी ज्ञान फैलाएर विकृति हटाउने उद्देश्यले यसो गरेका थिए भन्ने प्रसङ्गलाई प्रस्ट पारिएको छ ।


बुद्धकालीन राज्यहरु ः

बुद्धकालीन समयमा ‘चक्रवर्ती राजा’ चारै दिशाका विजेता धार्मिक राजा जो झुट हत्या, हिंसा चोरी मद्यपान, डकैतीको बिरोध गर्थे भने ‘आदर्श राज्य’ दण्डित गर्नु भन्दापनि सबैलाई आ–आफ्नो पेसाप्रति प्रतिबद्ध बनाउनु सेना, कृषक, सेवक सबैलाई कामप्रति बफादार बनाउने सधै जनहितमा काम गर्ने नै प्रभावशाली राजा हुन्थे भन्ने कुरा स्पष्ट पारिएको छ ।

बुद्धकालीन राजतन्त्रात्मक राज्य ः

बुद्धकालीन राजतन्त्रात्मक राज्य (मगध, कोसल, वंस, अवन्ती) भन्दा गणतन्त्रात्मक राज्यहरु  केही कमजोर (शाक्य गणतन्त्र लिच्छवि गणतन्त्र) थिए । सबैभन्दा शक्तिशाली मगध राज्य थियो भगवान बुद्धले गृहत्याग गरी बुद्धत्व प्राप्त गर्दा मगधका १५ वर्षीय राजा बिम्बिसार थिए । उनी बुद्धका उपासक ५२ वर्ष शासन गरेका थिए । तात्कालिक समयमा वहुविवाह गरेर शत्रु राज्यसँग सम्बन्ध बढाउने, दाइजो प्रथा, जाल, झेल, षडयन्त्र बढी हुने प्रसङ्ग देखिएको छ ।
राजा बिम्बिसारकी एक पत्नी कोसलालाई आफ्नो (छोरा अजातशत्रु) गर्भमा रहेको बेला बिम्बिसार (श्रीमान) को दाहिने पाखुराको रगत पिउन पाए हुन्थ्यो भन्ने अति इच्छा जाग्यो । त्यो व्यक्त गर्न नसकेर उनी दुबालाउँदै गइन् । उनको त्यस्तो हालत नभने पनि गर्भिणीको इच्छा पूरा गर्नुपर्छ भनेर राजाले जिद्दी गरेर सोधेपछि रानीले भनेर इच्छा पूरा गराए । यस्तो सुनेपछि गर्भ लक्षणका जानकारले यो गर्भबाट जन्मेको पुत्रले पितृघात गर्नेछ भन्ने भविष्य वाणी गरे । त्यसपछि रानीले भ्रुणहत्या गर्ने मनसाय गरेपनि राजाले स्वीकारेनन् । पछि रानीले पनि हत्या गर्न सकिनन् । राजाले युवराज घोषित गरे । केही समयपछि पिता बिम्बिसारलाई उनै छोरा अजातशत्रुले मारे । उनका मामा ‘देवदत्त’ ले बुद्धलाई मारेर आफू भिक्षुको राजा हुने भिनाजु बिम्बिसारलाई जेल हालेर अजातशत्रुलाई राजा बनाउने षड्यन्त्र गरेँ । बुढेसकालमा जेल परेका बिम्बिसारलाई केही खान नदिएर कडा यातनाका साथ मार्न खोजे । रानी कोषलादेवी भेट्न जाँदा खाना खोकिलामा, कपालको जुरोमा, जुत्तामा लुकाएर जाँदा पनि थाहा पाएर अन्तिममा शरीरमा घिउ, मह, सखर दलेर शरीर चटाएर श्रीमान् बचाउन खोज्दा छोराले सबै प्रतिबन्ध लगाएर मारेको किम्बदन्ती दिइएको छ । बाबुलाई त्यसरी मारेका अजातशत्रुलाई पुत्रलाभ भएपछि पश्चाताप लागेको थियो भनिएको छ ।

त्यसपछि पाचौँ पुस्तासम्म राजकूलमा पितृघात गरेका र (बिम्बिसार, अजातशत्रु, उदयभद्र, महामुण्डिक, अग्निरुद्ध )

अन्तिमराजा अनिरुद्धका छोरा नागदासलाई जनताले बिद्रोह गरेर मारेपछि पितृघात छुटेको कुरालाई देखाइएको छ ।

राज्य सत्ताका लागि बुद्धकालीन समाज जस्तोसुकै कुकर्म पनि गर्न पछि हड्दैनथे भनिएको छ । राज्यहरु मगध, कोसल, वंस, अवन्ती, आदि थिए । 

गणतन्त्रात्मक राज्यहरु ः

बुद्धकालीन समयमा गणतन्त्रात्मक राज्यहरु कमजोर भनिएको लिच्छवि गणतन्त्रलाई परिषद् भनिथ्यो । लिच्छवि गणतन्त्रमा राज्यका सबै कुमारहरु धनुर्वाणमा निपुण, सबैको सुख दुःखमा उपस्थित आदि सबै कुरामा निपुण भएको हुँदा बुद्धले लिच्छविलाई देवताको परिषद् लिच्छवि परिषद् भनेर प्रशंसा गर्थे । त्यो  मगध राज्यका राजा बिम्बिसारका पुत्र अजातशत्रु तोड्न  चाहान्थे । त्यसबारे बुद्धका उपदेश लिन सुनिध र वस्सकार नाउँका दुई मन्त्रीलाई बुद्धकहाँ पठाए । बुद्धले यी सात सुत्रको पालना गरेमा युद्धमा अजेय रहने जानकारी गराएका कारण पालना गरी मगध राज्य राज्य कौसलमा पारङ्गत थिए भनिएको छ ।

 १. काम पर्नासाथ भेला हुने 
२. एक भएर सरसल्लाह गर्ने 
३. कुलधर्मको पालना गर्ने 
४. बुढापाकाको कदर गरी उनीहरुको सरसल्लाह लिने 
५. नारीको सम्मान गर्ने 
६. धार्मिक चैत्य, विहान आदिको संरक्षण गरी तिनलाई तोकीएको गुठीको हडप नगर्ने 
७. धार्मिक सत्पुरुषहरु आफ्नो राज्यमा आउँदा बसून् भन्ने कामना गर्ने र उनीहरुको गाह्रोसाघुरो फुकाउने ।(अतिथि देवो भव)

बुद्धकालीन राज्य व्यवस्थाहरू ः 

आदिम युगमा समाजले स्वीकारेको व्यक्तिलाई राजा बनाउने क्रमबाट समयक्रम अनुसार राजा हुने अवसर आयो । राजाले सबैको प्रिय हुनको लागि सुरक्षा, न्याय, आर्थिक पक्ष, प्रशासन र दण्डजस्ता कुरामा ध्यान दिने गर्दथे नत्र प्रजाले नयाँ राजा खोज्ने परम्परा आदिम कालमा रहेको थियो भने बुद्धकालीन समाजमा पनि त्यो केही प्रजामा भनिएको छ । 

भिक्षु र भिक्षुणीसंघ ः

बुद्धकालीन समाजमा बुद्धबाट प्रभावित भएर भिक्षु भिक्षुणीसङ्घ धेरै नै बढेको कुरा उल्लेख गरिएको छ । भिक्षु भिक्षुणी  हुनका लागि सम्पूर्ण वैभव त्यागेर विहारमा गएर पथपरेजमा रहेमा मात्र मौका पाउथेँ । कामुक पुरुष वा स्त्रीलाई वर्जित थियो । भिक्षुको लागि भोजनको व्यवस्था धर्मात्म गृहस्थीले मिलाउने गरेका थिए । राजा शुद्धोदनको मृत्युपछि बुद्धकी सानीआमा ‘महाप्रजापति गौतमी’ बुद्धले दिएका आठवटा सर्त पूरा गरेर भिक्षुणी बन्न अनुमति पाएपछि भिक्षुणीसंघ स्थापित भएको थियो भनिएको छ ।

बुद्धकालीन धार्मिक सम्प्रदाय ः 

बुद्धकालीन समाजमा क्षत्रिय र वैश्यका तुलनामा ब्राह्मण लोभी भएका कारण धर्मका नाममा  पशुबलि दिनेक्रम बढेको हुँदा बुद्धले धेरै ठाँउमा वर्जित गरेको कुरालाई उल्लेख गरिएको छ । बुद्धका अनुसार खरनी घसेर, उपवास बसेर, नग्न रहेर, भुइँमा सुतेर सागरमा नुहाएर स्वर्ग जाने होइन । रिस, राग, द्वेष, मोह तथा ईश्यालाई नाश गरेर दीन दुःखी, असहाय, बृद्धको सेवा गरे मात्र धर्म यही जुनीमा हुने कुरालाई उल्लेख गरेको पाइन्छ । बुद्ध एक भिक्षु सन्यासी हुँदा हुँदैपनि उनका विहारमा विभिन्न रुपमा सुन्दरी पठाइ षड्यन्त्रमा पारेर फसाउने कुचेष्टा गरिन्थ्यो । उनका भिक्षु चेलाहरू पनि त्यसको सिकार भएको कुरालाई देखाइएको छ । कतिपय बुद्ध विरोधी ब्राह्मणहरुका पत्नीहरु बुद्धका समर्थक भएकै कारण घरेलु हिंसा सहेर बस्नु परेको प्रमाणहरु अठ्ठकथालाई आधार मानी देखाइएको छ ।

बुद्धकालीन वर्णव्यवस्था ः (जातिप्रथा )

प्राचीन कालदेखि कामका आधारमा ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र गरी चार जातमा विभाजन गरिएको प्रथाले बुद्धकालीन समाजमा जातिबादमा अझै बढी जरागाढेको देखिन्छ ।  

ब्राह्मण ः शारीरिक मानसिक शुद्धता, क्षमाशील र सरल,
क्षत्रिय ः वीरता, धैर्यता, चातुर्य, युद्धकौशल, दानी, रक्षक हुने,
वैश्य ः कृषि, पशुपालन, वाणिज्यमा निपुण,
शुद्र ः अरू वर्णको सेवा गर्नु कर्म भएका, सेवामा टहल गर्ने, 

यसरी बुद्धकालीन समाजमा मानिसलाई उच्च र नीचोमा विभाजन गरेपनि बुद्धले जाति प्रथाको बिरोध गरेका कारण ब्राह्मण जातिले बुद्धको अपमान गरेको पाइन्छ । आफ्नो जग्गाजमिन नभएका कारण ज्याला मजदुरी गरेर जीविकोपार्जन गरेका शुद्र जातिले वेद अनि ऋचाका मन्त्रोच्चारण गरेपनि जिब्रो काटिदिने भन्ने मानिसलाई चिर्ने प्रयास बुद्धले गरेका थिएँ । तर पछि बुद्धकालमै परासरले शुद्रको उपनयन नगरिने हुँदा धार्मिक क्रियाकलापमा वर्जित गरेका थिए ।

बुद्धकालीन संस्कृति ः

बुद्धकालीन समाजमा मानिसको प्रमुख पेसा कृषि, पशुपालन थियो । आफ्नै घरमा घरायसी उपकर बाँस, माटा छाला, फलामका बनाएर बढी प्रयोगमा ल्याउने र बढी भए व्यापार पनि गर्ने परम्परा रहेको पाइन्छ । पाहुनाहरूलाई सत्कार खीर, माछामासु, खुवाएर गर्ने, शृङ्गार,  मनोरञ्जन, हात्ती, घोडा, रथ, उत्सव जन्म, चूडाकर्म, उपनयन, विवाह मृत्यु आदि थिए ।  राजा महाराजालाई खुसी पार्न गाना बजाना बजाएर नारीहरु दरबारमा बोलाएर नृत्य शृङ्गार आदि देखाएर कामुक भैदिने कुपरम्परा त्यो बेलामा बढीनै रहेको पाइन्छ । गर्भवती महिलालाई छुट्टै कोठामा राख्ने, कन्यादान खरिदबिक्रीबाट गरिने, लास धनीको दाहसंस्कार गर्ने गरिबको मसानाघाटसम्म लगेर फालेर आउने भेदभावपूर्ण कुसंस्कार रहेको देखिन्छ । शिष्टाचारमा राजालाई बोलीचालीमा देव भनेर सम्बोधन, दासदासीले मालिक भन्ने परम्परा थियो भने मालिकले दासलाई ‘भणे’, भिक्षुहरु एकआपसमा बोलाउन ‘आवुसो’ अन्य मातापिता, भगिनी, भन्ने परम्परागत संस्कार पाइन्छ । बुद्ध बुद्धत्वले भद्रताले निपुण भएका कारण भदन्त भन्ने गरिएको पाइन्छ । 

महिला र दासदासी ः

आदित्य युगमा महिलाहरू परिवारको मुखिया थिए । मातृसत्तात्मक समाज थियो । कालान्तरसम्म छोराछोरी मातृस्नेहले शारीरिक कमजोरी आदिले गर्दा पुरुष हाबी हुँदै जादा पितृसत्तात्मक समाज सुरु भएको भनिन्छ । बुद्धकालीन समाजमा महिलाहरूलाई बढी हेपाइ  सहेर, पुरुषबाट प्रताडित भएको देखिन्छ । बहुपत्नी प्रथा, पुरुषको कडा नियन्त्रणमा बस्नुपर्ने, रुपवती हुनुपर्ने, शृङ्गारयुक्त रहनुपर्ने, सन्तानोत्पादनका साधन मात्र पनि बनिदिनु पर्ने रहेको देखिन्छ ।  डरलाग्दो प्रसंग गणिकाको रुपमा कन्याहरु प्रयोग गर्ने, अर्धनग्न भएर कामुक हाउभाउ सहित पुरुषलाई आकर्षित पार्न बाध्य पारिथ्यो । ती कन्या गर्भवती भए अलपत्र अवस्थामा छोडिन्थ्यो । कोही गणिकाले धनी पुरुषलाई पाए लुटपाट पारेर गुण्डालगाएर हत्या गरेको पनि प्रसङ्ग आएको छ । वैदिक कालदेखि दासदासी राख्ने परम्परालाई बुद्धकालीन समाजमा अझै व्यापक बनाएर ती दासदासाका सन्तान मालिकका सम्पति हुन्थे । मालिकले यौनशोषण, देहव्यापार, नमाने अङ्गभङ्ग, खरिदबिक्री आदि चरम यातना बुद्धकालीन समाजका  गणिका तथा अन्य महिलाहरूलाई दिने गरेको पाइन्छ । 

उपसंहार

आदिम युगदेखि त्रिपिटकका अठ्ठकथाका कठिन प्रसङ्गहरूलाई सरल शैलीमा सामान्य पाठकले  सहजै बुझ्न सक्ने गरी सिर्जनात्मक रुप दिइएको उक्त कृतिमा लेखकीय कलात्मककताको निखार रहेको पाइन्छ । राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, भाषिक विकासको गतिसँगै आदिम युगको विकास र बुद्धकालीन समाजको सविस्तार सरल शैलीमा उतारिएकाले समग्रमा उत्कृष्ट रहेको पाइयो । जब घर, समाज, राज्यमा विकृत विसङ्गति आउँछ तब त्यसलाई न्यूनीकरण गर्न कोही वीर पुरुषको जन्म हुन्छ । जन्मनुको रुप फरक फरक हुन्छ ।  समयक्रम अनुसार समाजमा कुरीति, विसङ्ति, हिंसात्मक प्रवृति, अन्याय, अत्याचार, शोषण, दमन, कुण्ठा बढ्दै गएका कारण बुद्धले भिक्षुको रुप लिएर चेतना फैलाउने प्रयास गरेको कुरालाई सरल भाषामा प्रस्तुत गरिएको छ । शक्ति र भक्तिको पछाडि लागेर व्यक्तिगत स्वार्थका लागि चाकडी चाप्लुसी गर्न सक्नेले अधिकार प्राप्त गर्न जस्तोसुकै घृणित कार्य सत्ताधारी बध गर्न पनि पछि नपर्ने बुद्धकालीन समाज वर्तमान समाजको पर्यायको स्वरूप छर्लङ्ग ऐनामा उतारेको आभास उक्त कृति पठन गरेपछि भएको छ । राज्यसत्ता धारी तथा शक्तिशाली पुरुषको कामुक प्रवृत्तिबाट महिलाहरु प्रताडित भएर पनि कुण्ठित भइ बस्नुपर्ने बाध्यात्मक अवस्थालाई अठ्ठकथाको प्रसङ्गसँग जोडेर सरल र सभ्य भाषामा उतारिएको छ । मातृसत्तात्मक समाजबाट पितृसत्तात्मक समाजमा आएपछि विशेषगरी महिला तथा दासदासीहरूको जीवन बुद्धकालीन समाजदेखि हालसम्म पनि अत्यन्तै कष्टकर बनेको अनुभूत उक्त पुष्तकले गराएको छ । तात्कालिक समयका कुरीतिलाई वर्तमान समयसम्म पनि हटाउन नसकेको देखिन्छ । आदिम युगमा चोरी डकैती न्यूनीकरण गर्न हेरालुको रुपमा राखिएका समुदायका बलवान् व्यक्ति समयको गतिसँगै राजा भएको परम्परा बुद्धकालीन समाज हुँदै बाइसे चोबिसे राज्य पृथ्वीनारायण शाहसम्म रही शाहवंशीय राज्ज नेपालमा २०४६ को बहुदलीय  व्यवस्थाले हटाएको छ । समयक्रमले नीतिगत रुपमा सामाजिक संरचना र भौतिक विकासमा केही परिवर्तन आए पनि मानसिक रुपमा बुद्धकालीन समाजको स्वरुप अझै नफेरिएको आभास उक्त कृति पठन पछि अनुभूति गराएको छ ।