सर्पले डसेको ४ दिनपछि बालकको मृत्यु, नवलपुरमा ४ सय सर्प दंशका घटना

२०८१ जेठ १ मंगलबार ११:५०:०० मा प्रकाशित

नवलपुर । ४ दिन अघि सर्पले डसेका मध्यविन्दु नगरपालिकाका एक बालकको आज बिहान मृत्यु भएको छ ।

बैशाख २८ गते साँझ मध्यविन्दु नगरपालिका वडा नम्बर १२ ज्वाईथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमाललाई सर्पले डसेको थियो । घरको आँगनमा खेल्ने क्रममा सर्पले खुट्टामा टोकेको थियो । 

बालकको मध्यविन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको थियो । अस्पतालले गएराति बालकलाई अब बचाउन नसक्ने भनि परिवारलाई जानकारी गराएपछि परिवारले उनलाई घर ल्याएका थिए । गएराती सवा १ बजे घर ल्याइएकोमा बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।  

नवलपुरमा पछिल्लो समय सर्प दंशका घटना बढेका छन् । गर्मीयाम तथा पानी परेसँगै सर्प बाहिर निस्कने क्रम बढ्ने भएकाले पनि सर्प दंशका घटना बढ्ने गरेको पाइन्छ । 
यहि आइतबारमात्रै विनयी त्रिवेणी ४ का ७ वर्षिया प्रशंसा रानालाई घर अगाडी गोरेटो बाटामा नै सर्पले डसेको थियो । 

त्यस्तै सोमबार देवचुली १० का ५४ वर्षिया लक्ष्मीदेवी काफ्लेलाई आफ्नै घरको ढोकाबाट बाहिर निस्कने क्रममा सर्पले डसेको थियो । उनीहरुको उपचार चलिरहेको छ । 

नवलपुरमा चालु आर्थिक वर्षमा ४ सयको हाराहारीमा सर्पले टोकेका घटना छन् । विनयी त्रिवेणी स्थित आर्मी ब्यारेकमा रहेको सामुदायिक सर्प दंश उपचार केन्द्र, मध्यविन्दु जिल्ला अस्पताल, एनपिआई कालिगण्डकी अस्पताल, मध्यविन्दु तथा दुम्कौली अस्पतालहरुबाट प्राप्त जानकारी अनुसार विषालु नभएका ४ सय जति सर्प दंशका घटना छन् ।

चालु आर्थिक वर्षमा ५१ वटा विषालु सर्पले डसेको पाइएको स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । सर्प दंशका बिरामी उपचारका लागि चितवन समेत जाने भएकोले यो अझै बढ्न सक्ने जनाइएको छ । जिल्लामा सर्प दंशका कारण मृत्यु हुनेको एकिन तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।