गैँडाकोट ५ मा पहिलो चरणको उद्घोषण तालिम समापन 

२०८१ बैशाख १३ बिहीबार १७:२७:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ को आयोजनामा मंगलबारदेखी सुरु भएको पहिलो चरणको उद्घोषण तालिमको समपान गरिएको छ ।

सहमति संस्थाको सभाहलमा वडाका टोल विकास संस्था तथा महिला समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिम प्रदान गरिएको हो । तालिममा वडाका १० वटा टोल विकास संस्था र सोही टोलका महिला समूहका ३ जनाका दरले गरी ३ दर्जन बढीको उपस्थिति रहेको थियो । उद्घोषण तालिमको दोस्रो चरणमा वडाका बाँकी ९ वटा टोल विकास संस्था र सोही टोलका महिला समूहका ३ जनाका दरले गरी ३ दिनसम्म तालिम प्रदान गरिने छ । 

तालिमको समापन सत्रमा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडा कार्यबाहक वडा अध्यक्ष द्रोण वनले निरन्तर अभ्यास गरी अफुलाई अब्बल साबित गर्न आग्रह गर्नुभयो । नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले यस्ता तालिमले क्षमता विकास हुने विश्वास व्यक्त गर्दै सिकेका कुरा व्यवहारत कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । 

तालिमका सहभागीले तालिमले आत्मविश्वास बढाएको बताउँदै आगामी दिनमा टोल तथा समूहमा कार्यक्रम गर्न सहज हुने बताएका थिए । सहभागीका तर्फबाट विन्दु लामिछानेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा सदस्य उषा परियार, सुधा ज्ञवाली लगायतले आफ्ना भनाई तथा तालिमका अनुभव राख्नुभएको थियो ।  

तालिममा सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका सम्पादक श्रीधर उपाध्याय र सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेम क्षेत्रीले नेतृत्व विकास तथा उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।